पूर्वी नेपाल झापा जिल्लाको पूर्व पश्चिम राजमार्गवाट १० किलोमिटर दक्षिण भागमा अवस्थित छ, गौरादह नगरपालिकाका । गौरादह नगरपालिकाका नगर प्रमुख हुन् रोहितकुमार शाह । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित शर्माले चुनावीताका नागरिकहरुलाई स्वास्थ्य, शिक्षा, बाटो, बिजुली, खानेपानी, कृषि र विकास निर्माणका काम गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त ठाउँको विकास र नागरिक अपेक्षालगायतका विषयमा नगरपालिककाका प्रमुख शाहसँग अनलाइनपाना सहकर्मी सुजाता अम्गाईले गरेको कुराकानी :
कोरोना नियन्त्रणमा के-कस्ता काम गर्नुभएको छ ?
कोरोना नियन्त्रणको लागि हामीले अहिले नगरपालिकामा निःशुल्क एम्बुलेन्सको सेवा प्रदान गरेका छौं । अक्सिजन, अक्सोमिटर, मेडिसिन, डाक्टर नर्सहरुको लागी पीपीईको व्यवस्था गरेका छौं । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाई व्यवस्थापनबा लागि निःशुल्क शवबाहनको सेवा दिएका छौं । कोरोना परीक्षणका लागि एन्टिजेन किट आवश्यक मात्रमा उपलब्ध गराइरहेका छौं । हामीले आफनो तर्फबाट कोरोना नियन्त्रणका लागी सक्दो योगदान दिएका छौं ।
कोरोना संक्रमितको लागि क्वारेन्टाइन बनाउनु भयो कि होम आइसोलेसनमा नै बस्न अनुरोध गर्नुभयो ?
हामीले कोरोना संक्रमितको लागी ३५ बेडको क्वारेन्टाइन बनाएका छौं । कोरोनाको अलि बढी जोखिम देखिएकाहरु अस्पतालमा छन् भने अलि कम जोखिम भएकाहरुलाई क्वारेन्टाइनमा राखेका छौं । सामान्य लक्षण भएका र लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई होमआइसोलेसनमा नै बस्न अनुरोध गरेका छौं । नगरपालिकामा हालसम्म १८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।
विकास निर्माणको कामहरू कसरी अगाडि बढाउनु भएको छ ?
अब अहिले कोरोना भाइरसको महामारीको त्रास भएको र अवस्था प्रतिकुल भएका कारण केही विकास निर्माण कामहरु रोकिएका छन् । यो विषम परिस्थितिमा हामीले केही कामहरु चाहेर पनि गर्न सकिरहेका छैनौं । हुन त ठोस कामहरु गरिरहेका छौं । सडकको कामको कुरा गर्नुहुन्छ भने हामीले कालोपत्रेलाई निरन्तरता दिइ राखेका छौं । स-सना कामहरु भइराखेका छन् । बजेट अनुसारको नगरपालिका भवन र वडाको भवन निर्माण गरेका छौं ।
नागरिकसँगको सम्बन्ध कस्तो छ ?
सकरात्मक नै छ । किनभने काम गर्ने क्रममा सबैको सल्लाह सुझावहरु अनुरुप काम भइरहेको छ । यसर्थ पनि नागरिकसँगको सम्बन्ध राम्रो नै छ ।
चालुआर्थिक वर्षमा कति बजेट खर्च भयो ?
अहिले सम्ममा ९० प्रतिशत बजेट खर्च भइसकेको छ ।
आगामी योजनाहरु के-कस्ता छन् ?
कोरोनाले विगत वर्षदेखि नै हामी सबैलाई बाधा पुर्याइरहेको छ । विकास निर्माणका लागि गर्नुपर्ने काम धेरै नै छन् र भइरहेका पनि छन् । अरु ठाउँको तुलनामा हरेक कुराबाट पछाडि परेको क्षेत्र हो, गौरादह नगरपालिका । यद्यपि सवप्रथम त राजस्व समितिको बैठक बस्न बाँकी छ । गरीबी हटाउनका लागि उत्पादनमुलक क्षेत्रलाई जोड दिएका छौं । भौतिक विकास, सुशासन क्षेत्र, बालबालिका, कृषि क्षेत्र, दलित महिलालाई विभिन्न किसिमका सिपमुलक तालिमहरु दिनेछौं । पहिले त छलफल गर्छौं, त्यसपछि छलफलका कुराहरुलाई नगरसभामा पेश गरिन्छ र बजेट विभाजन हुन्छ । त्यसपछि के-के गर्न सकिन्छ गर्नेछौं । अहिले हामीले मुख्य प्राथमिकतामा कोरोना नियन्त्रण र बाढी पहिरोलाई राखेका छौं ।
कोरोनाको कारण के-कस्तो असर पर्यो ?
हामीले धेरै योजना बनाएका थियौं । जुन कोरोना भाइरसले नै चौपट पार्यो । अहिले योजनाको लागि नै भए पनि मिटिङ बस्न पाएका छैनौं । महिलाहरुलाई विभिन्न सिपमुलक तालिमहरुको कार्यक्रहरु थिए, जुन सम्भव नै हुन सकेनन् । किसानलाई हौसला प्रदान गर्न र प्रोतसाहन गर्नका लागि राखिएका कामहरु थिए, त्यो पनि पूरा भएनन् । यस्तै कामहरु रोकिरहेका छन् ।
प्रदेश र संघ सरकारले कस्तो सहयोग गरेका छन् ?
कोरोना भाइरसको यस्तो अवस्थामा पनि नागरिकको जीवन रक्षाको लागी स्थानिय सरकार नै खटेको छ । स्थानीय सरकार र संघ सरकारबाट जति बजेट आउनु पर्ने हो, त्यो आएको छैन् । प्रदेश शभाबाट बजेट नआएको एक वर्ष भयो । सहयोगको भावनाको कुरा त परैको हो ।
अन्य राजनीतिक दलहरूबाट के–कस्ता सहयोग आएका छन् ?
सबै राजनीतिक दलहरूले सहयोग गरिरहनु भएको छ । विभिन्न कार्ययोजनाहरु सहमति र समन्वयनमा नै भइरहेको छ । कुनैपनि ठाउँको विकासको लागि गरिएका कामहरू र गर्ने कामहरूको योजनामा सबै जनाको सहभागितामा निर्णय लिएर काम गरेका छौँ ।
व्यक्तिगततर्फबाट नागरिकको लागि आफैँले जनताप्रतिको कर्तव्य र दायित्व पूरा गरे जस्तो लागेको छ ?
मलाइ निर्वाचित गराउनु भएका जनताप्रति जवाफदेही भएर काम गरेको छु । शिक्षा, स्वास्थ, पूर्वधार, बाटोघाटोलगायतका विभिन्न संरचनाहरुको निर्माण भइरहेको छ । नागरिकको लागि गर्नुपर्ने कामहरु धेरै छन् र स्रोत साधनले भ्याएसम्मका विकास निर्माणका कामहरु नगरपालिकाले अगाडि बढाइरहेको छ ।
अहिलेको अवस्थामा गर्नुपर्ने आवश्यक काम के छन् ?
सबैभन्दा पहिला यहाँको जीवनस्तरमा गरिबी छ यसलाई उठाउन जरुरी छ । अर्को उत्पादन क्षेत्रमा कमी छ । पशुपालन, कृषि क्षेत्र अझै न्युन छ । यसको लागि बजेट छैन् । हाम्रो यहाँ पाँचवटा वडामा खानेपानीको समस्या छ । सडकको अवस्था अस्तव्यस्त छ, कालोपत्रे भएको छैन । विद्यालय भवन निर्माणका लागि १३ देखि १८ लाखसम्म आउँछ । यसले कसरी राम्रो भवन निर्माण गर्नु ? बजेट अभावकै कारण आवश्यक अनुसारको भवन निर्माण हुन सकेन । यति मात्र समस्या कहाँ होर अस्पतालको अवस्था पनि उस्तै छ, विज्ञ डाक्टर छैनन् । अस्पताल भएर के गर्ने न ल्याब छ न योग्य डाक्टर नै । कृषि क्षेत्र हेरौँ, त्यस्तै छ यहाँ धेरै गर्नुपर्ने कामहरु अस्तवस्त छन् । यसको मुख्य कारण भनेकोनै कम बजेट हो तर पनि हामीले सकेको कोशिस गरिरहेका छौं । कसरी विकास गर्न सकिन्छ र समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर अगाडि बढिरहेका छौं ।

















प्रतिक्रिया