लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा समर्थन गरेका दुईजना प्रदेशसभा सदस्यलाई जनता समाजवादी पार्टी नेपालले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएको भन्दै दुईजना सांसद सहसराम यादव र पुरमती ढेंगामगरलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको उद्योग मन्त्री समेत रहेकी पार्टीकी प्रमुख सचेतक कल्पना पाण्डेले जानकारी दिइन् ।
प्रदेशसभामा ६ जना सदस्य रहेका जनता समाजवादी पार्टीका चारजना सांसद भने सरकारले प्रस्तुत गरेका निती तथा कार्यक्रमको समर्थनमा उभिएका थिए । पार्टीको संसदिय दलको जेठ २९ गते बसेको बैठकले पार्टीका ६ जना सांसदलाई नै सरकारको निती तथा कार्यक्रमको समर्थनमा उभिन ह्वीप जारी गरेको प्रमुख सचेतक पाण्डेले बताइन् ।
पार्टीको आधिकारिक निर्णय बिना नै उक्त पार्टीका चारजना सांसद मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागि भएपछि प्रदेशसभामा प्रतिनिधित्व गरेका जनता समाजवादी पार्टीका सांसदहरु दुई कित्तामा विभाजन भएका छन् ।
उनीहरूले एकपक्षले अर्को पक्षलाई ह्वीप जारी गर्दै कारबाहीसमेत गर्दै आएका छन् । यसअघि प्रदेश सरकारमा सहभागि भएका सन्तोष पाण्डेय, कल्पना पाण्डे, विजय बहादुर यादव र सुमन शर्मा रायमाझीलाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गरिएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पद थामिएको छ ।
यसअघि जनता समाजवादी पार्टीको तर्फबाट प्रदेशसभामा दलको नेता बनेका सहसराम यादव रहेकोमा गत बैशाख ५ गते बसेको संसदीय दलको बैठकले यादवलाई हटाएर सन्तोष पाण्डेयलाई दलको नेता बनाईएको पाण्डेले जानकारी दिइन् । पछिल्लो पटक दलको नेता चयन भएका पाण्डेले प्रदेशसभामा रहेका दुईतिहाई बढी सदस्यको निर्णयबाट आफु दलको नेता चयन भएको बताएका छन् ।















प्रतिक्रिया