पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने बताएका छन् । नउले असार ४ गते विश्वासको मत लिएर मात्रै मन्त्रिमण्डल बिस्तारका साथै बाडफाँट गर्ने बताएका हुन् ।
उनले मन्त्रालय बाँडफाँटपछि प्रदेशसभामा बजेट छलफल अघि बढाइने बताए । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेल नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
गठबन्धनमा रहेको दलमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने तर गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएको छ । अरु दलभित्र भने मन्त्री र मन्त्रालयका विषयमा विवाद छ ।
हाल विना विभागीय मन्त्री रहेका कांग्रेसका कुमार खड्का र जनता समाजवादी पार्टीका हरिशरण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय ताकेका छन् । आचार्यले आर्थिक मामिला नपाए भौतिक पूर्वाधार मन्त्रालय चाहिने अडान राखेका छन्, भौतिक पूर्वाधारमा नै स्वतन्त्र सांसद दीपक मनाङेको दाबी छ ।
मन्त्रालयको बाँडफाँटका कारण विवाद हुन सक्ने भएकाले त्यसअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री पोखरेल छन् ।
प्रदेशका ११ मन्त्रालयमध्ये कांग्रेस र माओवादीलाई ४/४, जनता समाजवादीलाई २ र एक स्वतन्त्र मनाङे गरी ११ मन्त्रालय बाँडफाँट हुने पोखरेल स्रोतले बतायो ।















प्रतिक्रिया