Logo

राजनीति

गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्‍वास मत प्राप्त गर्न नसके के हुन्छ ? 



काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १ सय ६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले २९ जेठमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जनाएका छन् । विश्वासको मत लिन दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्थाअनुसार आजै प्रदेशसभा सचिवालयलाई लिखित जानकारी गराइएको छ ।

मुख्यमन्त्रीमा नियुक्त हुन पोखरेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन जुटाएका थिए । 

६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा जनमोर्चाका कृष्ण थापालाई कारबाही गरिएपछि ५९ सांसद् रहेका छन् । मुख्यमन्त्री विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्छ । यसअघि उनी मुख्यमन्त्री बन्दा ३१ प्रदेश सभा सदस्यले समर्थन गर्दै हस्ताक्षर गरेका थिए । 

यसअघि जेठ २७ गते तत्लकालीन मुख्यमन्त्री पृथ्वी सुब्बा  गुरुङले प्रदेश सभामा विश्‍वासको मत गुमाएका थिए । उनले विश्वासको मत गुमाएपछि पोखरेललाई मुख्यमन्त्री बन्‍ने बाटो खुला भएको हो । पोखरेलले विश्वासको मत लिन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरि ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने छ । 

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार १५:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।