Logo

राजनीति

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, सहभागी नहुन महन्थको आह्वान



जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बिहीबार बिहान साढे ११ बजे उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षीय केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्‍न लागेको हो । 

अध्यक्ष यादवका अनुसार बैठकबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय लिइने जनाइएको छ । जसपामा बहुमत पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यादव पक्षीय बैठक बस्‍न लागेको हो । 

पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, चन्दा चौधरीलाई बैठकमा बोलाइएको छैन ।  उनीहरु पार्टीबाट निष्कासित भइसकेकाले बैठकमा नबोलाएको जसपाका एक सदस्यले जानकारी दिए । 

५१ सदस्यीय मध्ये ४३ जनालाई बैठकको बारेमा जानकारी पठाइएको पार्टी कार्यालयले जनाएको छ । औपचारिक विभाजन हुन बाँकी रहेको जसपाबाट महन्थ ठाकुर समूह सरकारमा सहभागी भएपछि सरकारमा सहभागी भएका मन्त्रीहरुलाई स्पष्टिकरण सोधिएको हो । 

अवैधानिक बैठक : महन्थ 

दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले बिहीबारका लागि बोलाएको बैठक अवैधानिक र अनाधिकृत भएको बताएका छन् । उनले पार्टी अध्यक्षलाई नै जानकारी नदिएर बोलाइएको बैठक अवैधानिक र अनाधिकृत हुने बताएका छन् । ठाकुरले बुधबार साँझ विज्ञप्ति जारी गर्दै उपेन्द यादवले बोलाएको भनिएको बैठकबाट हुने सबै निर्णयहरु मान्य नहुनेसमेत बताएका छन् । 

ठाकुरले अनाधिकृत बैठकमा सहभागी नहुन सदस्य र पदाधिकारीहरुलाई आह्वान गरेका गरेका छन् । यादवले बुधबार केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका छन् । जसपाको आधिकारिकता विवाद निर्वाचनमा आयोगमा छ ।

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार  १० : ५७ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।