गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई विश्वासको मत दिन्न भन्न पनि गाह्रो भएको बताएका छन् । गण्डकी प्रदेश सभामा शुक्रबार विश्वासको मतमाथिको प्रस्तावमा छलफल गर्दै नेकपा एमालेका संसदीय दलका नेतासमेत रहेका गुरुङले मुख्यमन्त्री पोखरेल शालिन व्यक्तित्व भएको भन्दै विश्वासको मत दिन्न भन्न गाह्रो भएको बताएका छन्।
उनले भने, “परिपक्व नेता, शालिन व्यक्तित्व र लोकतान्त्रिक आन्दोलनको गौरवपूर्ण परिवारबाट आउनु भएको व्यक्तिलाई विश्वासको मत दिन्न भन्न गाह्रो छ । दिनुस् भन्न हो भन्ने पनि नसम्झिनुहोला । उहाँको कार्यकालको सफलताको शुभकामना दिन चाहन्छु । सम्मान पनि व्यक्त गर्न चाहन्छु ।”
तर, जुन सैद्धान्तिक धरातल र अवसरवादीहरुको गठबन्धनबाट बनेको यो सरकारलाई विश्वासको मत दिन नसकिने पनि स्पष्ट पारेका छन् ।
उनले भने, “विश्वासको मतको विषयमा छलफल भइरहँदा प्रमुख प्रतिपक्षी तथा एकलौटी प्रतिपक्षी दलको नेताको हैसियतले केही भन्न चाहन्छु । निरपेक्ष विरोध र समर्थको कुरा होइन । प्रदेश सरकारले गरेका गौरवपूर्णका कुराहरु अघि बढाइन्छ भने त्यस्तो कुरामा हाम्रो समर्थन रहन्छ । जसको खुट्टा छैन उसको नाम टेकबहादुर र जसको सिंग छैन उसको नाम तिखे भनेजस्तो होइन । संघीयतालाई बलियो बनाउने कुरालाई समर्थन गर्छौं । लोकतन्त्रलाई बलियो बनाउने कुरालाई समर्थन गर्छौं ।”
उनले प्रणालीलाई बिगार्ने र भत्काउने निर्णयहरुको डटेर सामना गर्नेसमेत बताएका छन् । उनले भने, “प्रदेश सरकारको तर्फबाट संघीयताको पक्षमा यो सरकार लाग्छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले हर मोर्चामा सहयोग गर्न तयार छ । संघीयता बलियो हुने भने लोकतन्त्र बलियो हुन्छ । गण्डकी प्रदेशमा सरकार चलाइरहँदा असल शासनका लागि असल व्यक्ति चाहिन्छ भन्ने कुरालाई निरन्तरता दिएका थियौं । यो सरकारले मेरिटोकेरेसीलाई ध्यान दिएका दिँदैन र प्रणाली भत्काउने कुरा गर्छ भने विरोध गर्छौं ।”
काठमाडौंमा बसेका सबै नेताहरुको कुरा बुझेको उल्लेख गर्दै उनले भने, “राजनीतिक व्यापारका लागि कुरा गर्छन् र कसले साँचो रुपमा हामीलाई प्रयोग गर्न खोज्छ भन्ने हामीले बुझेका छौं । किन चाहिन्छ काठमाडौंमा ५० हजार कर्मचारी । किन स्थानीय कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । यस्ता कुरा हामी केन्द्र सरकारसँग सधैं लडेका छौं । यो सरकारले यस्ता कुराहरुलाई निरन्तरता दिनुपर्छ ।”















प्रतिक्रिया