काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूह पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको छ । अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरु आयोगमा पुगेका छन् ।
आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३-४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग पुगेको हो । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।
यसअघि निर्वाचन आयोगले बहुमत सदस्यले गरेको निर्णयलाई अस्वीकार गरेपछि कानुन व्यवसायीहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्न सुझाएका थिए । उक्त सुझावका आधारमा शुक्रबार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न उपन्द्रसहितका नेताहरु पुगेका हुन् ।
गत सोमबार बसेको पदाधिकारी बैठकले निर्वाचन आयोगले आफूहरूले कानुन अनुरुपका सबै कागजात बुझाउँदा पनि एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको थियो । त्यसबारे नेताहरूले पार्टीका कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए ।
उपेन्द्र समूहले सरकारमा सहभागी नौजनालाई मन्त्रीलाईसमेत कारबाही गर्दै पार्टीको सदस्यबाट हटाएको छ । यसअघि महन्थ ठाकुर र राजेन्द्र महतोसहितका चार नेताहरुलाई कारबाही गरिएको थियो ।
प्रतिक्रिया