Logo

राजनीति

गण्डकीमा मन्त्रालयको भागबण्डा मिल्यो, कुन दललाई कति मन्त्रालय ?



गण्डकी प्रदेशमा विश्वासको मत लिएपछि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । तत्कालीन् विपक्षी गठवन्धानको तर्फबाट मन्त्री बन्ने सांसदहरुको टुङ्गो लगाएसँगै पोखरेलले मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । 

मन्त्रिपरिषद् विस्तारपछि नेपाली काँग्रेसले ४, माओवादी केन्द्रले ४ र जनता समाजवादी पार्टीले २ मन्त्री पाएको छ । मुख्यमन्त्री कार्यालय सहित ११ मन्त्रालय रहेको गण्डकीमा तत्कालीन् विपक्षी गठवन्धनले भागवण्डा मिलेको हो । 

नेपाली कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् । कांग्रेसबाट थप दुई जना मन्त्री थपिनेछन् । 

सत्ता गठबन्धनको अर्को हिस्सेदार माओवादी केन्द्रबाट मधुमाया अधिकारी (गुरुङ) मन्त्री बनिसकेकी छन् । माओवादीबाट अब तीन मन्त्री थपिनेछन् । सभामुख नेत्रनाथ अधिकारी सहित १२ जना सांसद माओवादी केन्द्रका छन् । सभामुख अधिकारी र मन्त्रीको सपथ लिएकी अधिकारी बाहेक सबैले मन्त्रीको दाबी गरेका छन् । 

जसपाका हरिशरण आचार्य उक्त दलबाट मन्त्री बनिसकेका छन् । उक्त दलबाट गत शनिबार सपथ लिन नपाएको भन्दै धनमाया पोखरेल (लामा) ले असन्तुष्टि राखेकी थिइन् । स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) ले पनि मन्त्रीको सपथ लिइसकेका छन् । गत शनिबार मुख्यमन्त्री पोखरेलसहित मन्त्रीको सपथ लिएका सबैलाई विना विभागीय मन्त्री बनाइएको थियो ।

भागबन्डामा संख्याको टुङ्गो लागे पनि कुन दललाई कुन मन्त्रालयको जिम्मेवारी दिनेमा निर्णय हुन सकेको छैन । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयसहित ४ मन्त्रालय माओवादीले दाबी गरेको छ । 

गण्डकीमा हाल कायम मन्त्रालयमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार ११:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।