Logo

राजनीति

 कांग्रेस सभापतिमा क-कसको दाबी ? 



नेपाली कांग्रेसमा १४ औं महाधिवेशको सरगर्मी बढेको छ । पार्टीको गत बिहिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति निर्धारण गरेसँगै नेताहरुले दौडधुप सुरु गरेका छन् । भदौमा महाधिवेशन नगरे पार्टीको वैधानिकता नै संकटमा पर्ने संवैधानिक प्रावधान अनुरुप हुन लागेको महाधिवेशनका लागि नेताहरुले भेटघाटलाई तिव्रता दिएका हुन् । गुटहरुले गाँजिएको कांग्रेसमा आगामी महाधिवेशनबाट सफल नेतृत्व चयन गर्ने र गुटगत राजनीति अन्त्य गर्नेमा सबै नेताहरु एकमत छन् । 

पार्टीलाई सबल नेतृत्व दिनुपर्ने, केन्द्रदेखि वडासम्म पार्टीका भ्रातृसंस्था, शुभेच्छुक संस्थाहरुलाई चलायमान बनाउनुपर्ने, पार्टी कुनै व्यक्तिभन्दा पनि सिद्धान्त र विधानमा आधारित भएर चल्‍नुपर्नेमा पनि कसैको विमति छैन । तर, पार्टी सभापतिमा देखिएका आंकाक्षीहरुको रस्साकस्सी हेर्दा, पार्टीमा गुटलाई मलजल गर्न, कमजोर बनाउन यिनै व्यक्तिहरु लागिरहेका छन् भन्‍दा अस्वभाविक हुँदैन । विधान अनुसार तोकिएको कार्यकालमा पार्टीको १४ औं महाधिवेशन गराउन नसकेको, भातृसंस्थालाई मृत्यु शय्यामा पुर्‍याएको, पार्टी कमजोर भएको र प्रतिनिधि सभामा ठूलो हार व्यहोरेको आरोप लागिरहेका सभापति शेरबहादुर देउवा फेरि पनि दोहोरिने बताएका छन् । 

सभापतिमा दोहोरिने घोषणा गर्दै देउवाले शनिबारदेखि पार्टीका केन्द्रीय सदस्यहरुसँग छलफल सुरु गरेका छन् । उनले पार्टीलाई बलियो र सबैभन्दा ठूलो बनाएर बिदा लिने र यो अन्तिम पटक भएको भन्दै भावनात्मक रुपमा कार्यकर्ताहरुलाई कन्भिन्स गर्ने प्रयास गरिरहेका छन् । गुटको भेलामा सहभागी केन्द्रीय सदस्यहरु पनि कुनै न कुनै पदमा आंकाक्षी भएकै कारण देउवाको बोलीमा लोली मिलाएर बूढानिलकण्ठबाट फर्किएका छन् । 

संस्थापनभित्रै देउवा-निधि भिडन्त

सभापतिमा देउवाले दाबी गरिरहँदा उनकै गुटमा रहेर पद प्राप्तिमा भागेदार बनेका र पीता महेन्द्रनारायण निधिको राजनीतिक संघर्षको ब्याज खाइरहेका विमलेन्द्र निधिले पनि सभापतिको बार्गेनिङ गरिरहेका छन् । सभापति देउवा र उपसभापति निधिबीच शनिबार बेलुका बूढानिलकण्ठमा भेट भयो । उक्त भेटमा सभापति देउवाले निधिलाई आफू सभापतिमा लड्‍ने र सहयोग गर्न आग्रह गरे । जवाफमा निधिले आफू पनि सभापतिमा लड्ने सुनाउँदै देउवालाई भने, “सभापतिमा म पनि लड्छु । तपाईंलाई पूर्वजानकारी गराएको हुँ ।”

निधिले देउवालाई प्रधानमन्त्री बनेर पार्टी सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरे । उनले भने, “तपाईंलाई प्रधानमन्त्री हुने अहिले राम्रो अवसर छँदैछ । आगामी निर्वाचनपछि पनि तपाईं प्रधानमन्त्रीका लागि तयारी गर्नुस् । मलाई प्रधानमन्त्री बन्न हतारो छैन । सभापतिमा मचाहिँ लड्छु ।” निधिले देउवालाई आफ्नो प्रस्तावक वा समर्थन बसिदिन आग्रहसमेत गरे ।

निधिको आग्रहपछि देउवाले जवाफ दिए, “सभापतिमा लड्ने तपाईंको पनि अधिकार छँदैछ नि । लड्नुस् न त ।” देउवाले यसपटक सभापतिमा लड्ने अडानबाट पछि नहट्ने दोहोर्‍याउँदै भने, “मैले बुझेको छु, त्यो हो । तर, यसपालि म लड्छु । तपाईं लड्ने कुरा तपाईंको अधिकार हो ।”

संकटमा रामचन्द्र 

सभापति देउवासँगै राजनीति सुरु गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिमा आंकाक्षी देखिएका छन् । देउवा चार पटक प्रधानमन्त्री र एक पटक सभापति भइसक्दा पनि पौडेल पनि अहिलेसम्म कार्यकारी पद प्राप्त गर्न सकेका छैनन् । १७ पटक प्रधानमन्त्रीमा र एक पटक पार्टी सभापतिमा पराजित भएका पौडेलले फेरि सभापतिमा दोहोरिन आकांक्षा व्यक्त गरेका छन् । १३ औं महाधिवेशनमा अन्तिम समयमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देउवालाई साथ दिँदा पराजय भोगेका पौडेल यसपटक थप संकटमा परेका छन् । 

तत्कालीन सभापति शुशील कोइरालाको देहान्तपछि कार्यबाहक सम्हालेका पौडेललाई १३ औं महाधिवेशनमा कोइराला परिवारले साथ दिँदा पनि जित सुनिश्चित गर्न नसकेका पौडेललाई अहिले कोइरालाहरु आफैं सभापतिमा दाबी गर्दा समस्या भएको हो । तर, पनि वरिष्ठ नेता पौडेलले देउवानिकट केही नेताहरुलाई पनि आफ्नो प्यानलमा ल्याउन कसरत गरिरहेका छन् । त्यस्तै, उनले सभापतिका अन्य आकांक्षी प्रकाशमान सिंह, शशांक कोइराला र कृष्णप्रसाद सिटौला समूहलाई पनि आफूसँग ल्याउन सकिने विश्वास व्यक्त गरिरहेका छन् । सिटौलाले आफूलाई सहयोग गर्दा सिंह र कोइराला आफ्नो पक्षमा आउने उनले आँकलन छ ।  यस्तो भएको खण्डमा पहिलो चरणमा नभए पनि दोस्रो चरणबाट आफू सभापतिमा निर्वाचित हुने पौडेलको विश्‍वास छ ।

सिटौलाको उम्मेदवारीको निरन्तरता

१३ औं महाधिवेशनका अर्का उम्मेदवार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिको आंकाक्षी देखिएका छन् । पार्टीमा तेस्रो धारलाई बलियो बनाउन लागिरहेका सिटौला १४ औं महाधिवेशनमा पनि पार्टी सभापितमा दाबी गर्ने यसअघि नै विभिन्‍न सञ्‍चारमाध्यमसँगको अन्तर्वार्तामा बताइसकेका छन् । पार्टीमा असन्तुष्टहरुलाई समेटेर सभापतिमा दाबी गरिरहेका सिटौलाले पार्टी नेतृत्वभन्दा पनि आफ्नो गुटको उपस्थितिलाई बलियो बनाउने दाउ देखिन्छ । गुट बलियो भएमा पार्टीमा भागबण्डाका क्रममा ठूलो भाग पाइने आशामा सिटौला देखिएका छन् । 

गगन थापा र प्रदीप पौडेलजस्ता युवा र जुझारु नेताहरुलाई साथमा राखेका सिटौलासँग संख्याका हिसाबमा पनि सभापतिमा जित हात पार्ने आधार देखिँदैन । अघिल्लो पटक महामन्त्रीमा पराजित भएका गगन यसपटक गुट परिवर्तन गरेर भए पनि महामन्त्रीमा दोहोरिने दाउमा रहेका कारण सिटौलाको ‘सभापति सपना’ विपनामा साकार हुने जग भत्किरहेको छ । 

कोइरालाको कोटरीमा पनि चिरा 

शुशील कोइरालाको निधनपछि मियोविहीन बनेको कोइरालाहरु १४ औं महाधिवेशनमा पनि एक ठाउँमा रहने कुनै सुनिश्चितता देखिएको छैन । १३  औं महाधिवेशन र मुलुकको प्रतिनिधि सभामा कांग्रेसले भोगेको पराजयपछि एक ठाउँमा उभिएर कोइरालाले कांग्रेसको नेतृत्व गर्ने घोषणा गरेका बीपीपुत्र शशांक, नोनापुत्र शेखर र गिरिजापुत्री सुजाता गरि तीनै जना अहिले तीनतिर फर्किएका छन् । १३ औं महाधिवेशनमा रामचन्द्रले शशांकलाई अघि बढाएपछि मुख बन्द गरेका शेखर अहिले सभापतिमा जुनसुकै हालतमा पनि दाबी गर्ने रणनीतिमा रहेका छन् । जीवनको महत्वपूर्ण समय जागिरे भएर ब्यतित गरेका शेखर अहिले आएर पार्टी बिगारेको आरोप लगाउँदै सुधार्ने दाबीसहित सभापति लड्ने बताइरहेका छन् । 

मित्रराष्ट्र भारतको पनि राम्रो साथ पाएका शेखरले निधिलाई पनि उम्मेदवारीमा उचालेर देउवा कमजोर बनाउने र पार्टी नेतृत्वमा जित हात पार्ने रणनीतिमा शेखर रहेका छन् । उनले सिटौला गुटका गगन र देउवा र पौडेल गुटका केही नेताहरुलाई साथ लिएर युवा नेतृत्वले पार्टी हाँक्‍नुपर्ने हाँक दिइरहेका छन् । ओली सरकारले बढाएको वृद्धभत्ता खाने उमेर कटेका शेखरले युवा पुस्ताले पार्टी हाँक्नुपर्ने भन्दै सभापतिमा आफूले दाबी गर्नु ओलीको उखानटुक्का भन्दा हास्यास्पद कुरा हो । 

शेखरले जसरी पनि पार्टी नेतृत्वमा दाबी गर्ने भन्दै अघि बढिरहेका बेला महामन्त्री भइसकेका बीपीपुत्र शशांकले पनि पार्टी नेतृत्वमा दाबी गर्नु अधिकारको कुरा हो । महामन्त्री भइसकेका व्यक्तिले त स्वभावत: सभापतिमा दाबी गर्नुपर्ने हो । उनले पनि शेखरसँग मिल्‍ने छाँट देखाएका छैनन् । पार्टीमा सभापतिका उम्मेदवारहरुको अनुहार हेरिरहेका शशांकहरुले उम्मेदवारहरुको प्रकृति र उनीहरुको गठबन्धनलाई ध्यानमा राखेर सभापतिमा दाबी गर्ने रणनीति बनाएका छन् । शंशाकलाई सुजाताले पनि सघाउने जनाउ दिएकी छन् । 

वास्तविक युवा पुस्ताको चुनौती 

पार्टीमा युवा पुस्ता चाहियो भन्दै फेरि ६० कटेका शेखरलगायतहरुले सभापतिमा दाबी गर्दै युवाको नै अपमान गरिरहेका समयमा वास्तविक युवा पुस्ताले पार्टी नेतृत्वको लागि दाबी गर्ने बताएका छन् । पार्टी केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टी सभापतिमा यस पटक आफू जसरी पनि लड्‍ने बताइरहेका छन् । युवा पुस्ताको रटान लगाइरहेका ६० कटेकाहरुलाई गुरुङले चुनौती आँटसहित अघि बढ्न लागेको बताएका छन् । 

गुरुङले नेपाली कांग्रेसमा युवाको नेतृत्व आवश्यक रहेको र कोही युवा तयार नदेखिएका कारण आफू अघि सरेको यसअघि नै घोषणा गरिसकेका छन् । उनले भनेका थिए, “म कल्याण गुरुङ, नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन्छु । १ दिन्छु, २ दिन्छु, ३ दिन्छु ।”  आफ्ना मान्छेको राजनीतिक भविष्य सुरक्षित गर्नका लागि उम्मेदवारी दिनेहरुलाई पनि चुनौती दिँदै आफूले सभापतिमा दाबी गर्ने बताएका हुन् । 

यी बाहेक ताक परे तिवारी, नत्र गोतामे भन्दै सभापतिको आकांक्षा राख्‍नेहरु पार्टीका अन्य पनि धेरै रहेका छन् । जसको पहिलो नम्बरमा छन्, गणेशमान पुत्र प्रकाशमान सिंह । रामचन्द्रको गुटमा प्रकाशमानले पनि यसपटक सभापतिमा लड्ने आकांक्षा व्यक्त गरेका छन् । संस्थापनबाट निधिको सभापतिमा उम्मेदवारी परेको अवस्थामा प्रकाशमानको उम्मेदवारी पनि निश्‍चितजस्तै बन्‍ने भएको छ । त्यसैगरि अर्जुननर सिंह केसी, रामशरण महतले पनि कांग्रेसको सभापति बन्‍ने इच्छा व्यक्त गरेका छन् । कांग्रेसको केन्द्रीय सदस्य बन्‍ने हरेकले सभापतिको दाबी गर्न सकिने भए पनि केही नेताहरु पनि दाउ कुरेर बसेकोजस्तो देखिएका छन् । संस्थापनबाट देउवा र निधिको उम्मेदवारी परेको अवस्थामा संस्थापन इतरबाट पनि उम्मेदवारहरु बढ्ने निश्चित छ । 

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १४:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।