पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रालय बाँडफाँट गर्ने तयारी गरेका छन् । तर, कुन दललाई कुन मन्त्रालय दिने भन्ने विषयमा विवाद हुँदा मन्त्रालयको टुंगो लाग्न सकेको छैन ।
कांग्रेसबाट अझै दुईजना सरकारमा सामेल हुन बाँकी छन् । कांग्रेसबाट सरकारमा जान विन्दु थापा, मेखलाल श्रेष्ठ र प्रकाशचन्द्र दवाडीको नाम चर्चामा छ । तर, कांग्रेमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कोइराला पक्षबाट समेत समेट्नुपर्ने बाध्यताका कारण मुख्यमन्त्रीले मात्र यसबारे निर्णय गर्न सक्ने अवस्था छैन ।
माओवादीले पाएको चार कोटामध्ये एकजनालाई सरकारमा पठाइसकेको छ । उसले शहिद परिवारका सदस्य र महिलालाई प्राथमिकता दिएर मन्त्री बनाइसकेको छ भने थप एकजना महिलालाई मन्त्री बनाउने योजना बनाएको छ । माओवादीबाट मन्त्री बन्ने चर्चामा गायत्री गुरुङ छिन् ।
माओवादीकै सांसद रामजी बराल ‘जीवन’ र संसदीय दलका नेता हरिबहादुर चुमान पनि मन्त्री बन्ने चर्चा छ ।
जसपाका हरिशरण आचार्यले अर्थ मन्त्रालय दाबी गरिरहेका छन् । उनलाई अर्थमन्त्रालय दिनेगरी मुख्यमन्त्री पोखरेल र उनीबीच लिखित सहमती भइसकेको छ । तर, उक्त सहमति कार्यान्वयन नभए आफूलाई भौतिक पूर्वाधार मन्त्रालय दिनुपर्ने आचार्यको दाबी छ ।
प्रतिक्रिया