प्रतिनिधि सभा विघटनको मुद्दामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको दायर गरेको रिटको पक्षबाट बहस गर्न २६९ जना कानुन व्यवसायीहरुले वकालतनामा दर्ता गरेका छन् । देउवाको तर्फबाट २ सय ६९ जना कानुन व्यवसायीले वकालत नाम बुझाएका छन् ।
वकालतनामासँगै कानुन व्यवसायीलाई बहस नोटमा पनि हस्ताक्षर गराइएको छ । वकालतनामा बुझाएका कानुन ब्यवसायी मध्येबाट इजलासले दिएको समयसिमा भित्र छानिएका कानुन व्यवसायीले बहस गर्नेछन् ।
रिट निवेदकका तर्फबाट बुधबार पाँच कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गरेका थिए । गोविन्द शर्मा बन्दीले ४० मिनेट, अधिवक्ता खातीले २० मिनेट, वरिष्ठ अधिवक्ता महादेव यादवले आधा घण्टा, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले १ घण्टा र शम्भु थापाले १ घण्टा ३० मिनेट गरि चार घण्टा बहस गरेका थिए ।
रिट निवेदकका लागि संवैधानिक इजलासले सुरुवाती बहसका लागी १२ घण्टाको समय दिएको छ । सरकार पक्षको बहस सकिएपछि निवेदक पक्षले पुन: थप ३ घण्टा प्रत्युत्तर लगाउन पाउने गरी सर्वोच्च अदालतको संवैधानिक इजलासले समय तोकेको छ ।
अब, रिट निवेदक तर्फका कानुन व्यवसायीले ८ घण्टा सुरुवाती बहस गर्न पाउनेछन् । शुक्रबारसम्ममा बहस सक्नेगरी तयारी गरिएको बताइएको छ ।
बिहिबार वरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमन कुमार श्रेष्ठ, शेरबहादुर केसी, अधिवक्ता डा. दिनमणी पोखरेल, वरिष्ठ अधिवक्ता तुलसी भट्ट, वोर्णबहादुर कार्की लगायतले बहस गर्दैछन् । शुक्रबार अधिवक्ता टिकाराम भट्टराई, सुनिल पोखरेल र भिमार्जुन आचार्यले बहस गर्नेछन् ।
प्रतिक्रिया