सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारेको मुद्दामा भइरहेको सुनुवाइका क्रममा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपतिमाथि प्रश्न उठाएका छन् ।
श्रेष्ठले अघिल्लो पटक संसद विघटन हुँदा प्रधानमन्त्रीको विशेषाधिकारबारे बहस भएको र अहिले राष्ट्रपतिको विशेषाधिकारबारे बहस गर्नुपरेको बताए । उनले प्रश्न गरे, “राष्ट्रपतिले श्री ५ भन्दा माथि ‘श्री ७’ हो ? उहाँले आफूले त्यो स्थानमा राख्न खोज्नु भएको थियो ।
संसद विघटनको सम्भावनालाई निस्तेज पार्नकै लागि संविधानमा धारा ७६ को ५ को व्यवस्था उल्लेख गरिएको भन्दै अधिवक्ता श्रेष्ठले राष्ट्रपतिले आफूले गरेको काममा कसैले प्रश्न गर्न नसक्ने दावी गर्नु गलत भएको बताए ।
‘पहिले पहिले श्री ५ भन्ने हुन्थे । अहिले राष्ट्रपतिले आफूलाई श्री ५ भन्दामाथि श्री ७ मा राख्न खोज्नुभएको छ । धारा ७६ को ५ मा मैले जे गरेपनि हुन्छ भन्ने राष्ट्रपतिको दावी गलत छ,” श्रेष्ठले भने । उनले विगतमा राजा राष्ट्रप्रमुख हुँदा समेत नदिइएको अधिकार गणतन्त्रमा सेरेमोनियल राष्ट्रपतिले अभ्यास गर्न खोज्नु असंवैधानिक भएको जिकिर गरे ।
संविधानप्रति राष्ट्रपति पनि जवाफदेही हुनुपर्ने भन्दै श्रेष्ठले संविधानको धारा ७६ का सबै अधिकार आफूसँग रहेको दाबी गर्न नमिल्ने बताए । उनले विगतमा सर्वोच्चले शाही आयोग खारेज गरेर राजाको अधिकारको व्याख्या गरिदिएको स्मरण गराउँदै अहिले संसद पुनःस्थापना गरेर राष्ट्रपतिको अधिकार व्याख्या गरिदिनुपर्ने बताए ।
यसैगरि वरिष्ठ अधिवक्ता हरिहर दाहाले पनि आफ्नो बहस सकेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसद्ले दर्ता गरेको रिटमाथिको सुनुवाई बुधबारदेखि सुरु भएको छ । रिट निवेदकतर्फको बहस शुक्रबारसम्म सक्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया