Logo

राजनीति

कांग्रेसको क्रियाशील सदस्यता वितरण विवादको टुंगो कहिले लाग्छ ?



नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्‍न गर्ने गरि क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ ।

पार्टीभित्रको आन्तरिक समायोजन लगायत विभिन्‍न कारणले रोकिएको क्रियाशील सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समय भित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिए ।

आइतबार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरु सम्मिलित बैठक कार्यतालिका अनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा केन्द्रीत भएर छलफल अघि बढेको उनले जानकारी दिए । पार्टीको वडादेखि केन्द्र सम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पूर्व शर्तको रुपमा रहेका क्रियाशिल सदस्यताको छानबिन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रित भएर छलफल भएको पनि उनले बताए ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका नेता लेखकले आफ्नो समितिको संक्षिप्त मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले अधिकांश जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशिल सदस्यताको नविकरण र नयाँ इन्ट्री पनि भइसकेको तथा पार्टीको आन्तरिक समायोजन सम्बन्धी विवादका कारण प्रभावित भएका जिल्लामा पनि काम सुरु भएको जानकारी दिए ।

पार्टीको आन्तरिक समायोजनका कारणले बारामा, बर्दियामा पार्टी कार्यालयमा तालाबन्दी भएकाले र लामो समयसम्म समायोजन सम्बन्धी विवाद रहेकाले सिन्धुपाल्चोक जिल्लामा क्रियाशिल सदस्यता वितरणको काम अघि बढ्न सकेको थिएन । ती सबै जिल्लामा अहिले क्रियाशील सदस्यता वितरणको काम भइरहेको नेता लेखकले जानकारी दिए ।

नेता खरेलले कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशिल सदस्यताको काम सम्पन्न गर्ने विश्वास दिलाए ।

लेखकले भने, “झण्डै ८ लाख २० हजार क्रियाशिल सदस्यताको इन्ट्री भइसकेको छ । अधिकांश स्थानको सदस्यता वेबसाइटमा सार्वजनिक भइसकेको छ। प्राप्त उजुरी र गुनासामाथि छलफल भइरहेको छ। केही कुरामा समान धारणा बन्न नसकेकाले ती विषयमा पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेर समाधान धारणा बनाउने प्रयास भइरहेको छ । नेपाली कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडादेखि जिल्लातहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन त्यही तालिकामा हुने गरि क्रियाशील सदस्यताको काम सम्पन्न गर्ने कुरामा अगाडि बढेका छौँ ।”

नेता लेखकका अनुसार दुई जिल्ला बाहेकका जिल्लाबाट विभिन्न किसिमका उजुरी तथा गुनासाहरु आएका छन्। ती गुनासा तथा उजुरीलाई छलफल गर्दै टुंग्याउदै लगिएको उनले बताए । क्रियाशील सदस्यहरु नै मतदाता पनि भएकाले महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यताको विषय टुंगो लगाउने कार्य जटिल भएको नेता लेखकले बताए ।

प्रकाशित मिति : असार १३, २०७८ आईतबार  ७ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।