Logo

राजनीति

सर्वोच्चले असंवैधानिक भनेका मन्त्रीहरुलाई २० दिनको तलब दिनु संवैधानिक हुन्छ ?



तीन साता पनि कार्यकाल पूरा नगरेका २० जना मन्‍त्रीहरुलाई २० दिनको तलबभत्ता उपलब्ध गराइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते नियुक्ति गरेका १० मन्त्री, दुई राज्यमन्त्री र जेठ २७ गते नियुक्त गरेका सात मन्त्री, एक राज्यमन्त्री सर्वोच्चको आदेश अनुसार पदमुक्त भएका छन् । प्रधानमन्त्री ओलीले २० जना मन्त्रीहरुलाई असंवैधानिकरुपमा नियुक्त गरेको भन्दै सर्वोच्चले असार ८ गते उनीहरुको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 

सर्वोच्चको आदेशसँगै २० जना मन्त्रीहरु पदमुक्त भए पनि उनीहरुले २० दिने तलबभत्ता पाउने सरकारले निर्णय गरेको छ । उनीहरुमध्ये १२ जना मन्त्रीले १८ दिन र आठ जनाले १२ दिन आफ्नो कार्यभार सम्हालेका थिए ।  यसरी आफ्नो पद गुमाएका २० जनै मन्त्रीहरूले थप ७ दिनको अतिरिक्त तलबसमेत गरि २० दिनकै तलब पाउने भएका हुन् । 

संविधानको व्याख्या गर्ने अन्तिम निकाय सर्वोच्च अदालतले नै उनीहरूको नियुक्तिलाई असंवैधानिक भनिरहँदा उनीहरूलाई तलब सुविधा उपलब्ध गराउनु संवैधानिक वा असंवैधानिक भन्‍न‍े बहस सुरु भएको छ । 

यसरी संविधानले नै असंवैधानिक भनिएको कुरामा उनीहरूलाई तलब सुविधा उपलब्ध गराउनु पनि असंवैधानिक नै रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् । अनलाइनपनासँग कुरा गर्दै उनले भने, “उनीहरूको नियुक्ति नै असंवैधानिक ठहर भएको छ । त्यस्तोमा उनीहरूलाई तलब दिनु असंवैधानिक हो । यो सरकारी कोषको दुरुपयोग हो ।”

त्यस्तै अधिवक्ता सुनिल पोखरेलले सर्वोच्चले उनीहरूको नियुक्तिलाई असंवैधानिक भने पनि काम गरेवापतको सुविधा पाउने बताएका छन् । उनले भने, “उनीहरूले आफ्नो समय खर्चिएर काम गरेका छन् । त्यसो हुँदा त्यो समयको तलब सुविधा पाउँछन् ।”

मन्त्रीहरूको नियुक्ति प्रधानमन्त्रीको अधिकार अन्तर्गत पर्ने र उनीहरुको नियुक्तिदेखि शपथसम्म प्रक्रियागत रूपमा भएकाले श्रम गरेको समयको तलब सुविधा पाउने तर्क अधिवक्ता विष्णु गिरीको रहेको छ ।

उनले भने, “सर्वोच्च अदालतले उनीहरूको नियुक्ति बदर नगर्दासम्म उनीहरूले श्रम गरेका छन् । त्यसमा पनि उनीहरूको नियुक्ति प्रक्रियागत रूपमा भएकाले पनि उनिहरुले तलब सुविधा पाउँछन् । त्यसमा अब नैतिक रूपमा आफैँले सुविधा नलिने फरक कुरा हो ।”

प्रकाशित मिति : असार १२, २०७८ आईतबार  ७ : ३७ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।