काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा जुट्न पार्टी नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तिको अवसरमा वक्तव्य जारी गर्दै नेता नेपालले यस्तो आह्वान गरेका हुन्।
‘विद्यमान वैचारिक–राजनैतिक–सांस्कृतिक–आर्थिक विचलन, विकृति, विसंगती, सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै एमाले, सिंगो कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता कार्यकर्ता तथा शुभेच्छुकमा आह्वान गर्दछु,’ नेपालले वक्तव्य जारी गरेर भनेका छन्।
देशको संविधान, पार्टी विधान र सिद्धान्तअनुरुप पार्टी एवं सरकार सञ्चालन नगरी वर्तमान सरकारले दक्षिणपन्थी बाटो अवलम्बन गरेको उनले आरोप लगाएका छन्।
‘संविधान, पार्टी विधानअनुरुप पार्टी एवं सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा अघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरू नष्ट गर्ने संविधानमाथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिस्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो थयार्थ सबैका लागि दुःखद अवस्था हो,’ नेपालले भनेका छन्।
अधिनायकवाद तथा निरंकुशताविरुद्ध लामो संघर्ष गरेका मदन भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय र देशको कम्युनिस्ट आन्दोलनको आधारमा माक्र्सवादको आधार निर्माण गरिएको उनले बताएका छन्।
प्रतिक्रिया