प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्पन्न देशभन्दा पछि नभएको दाबी गरेका छन् । मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल सम्पन्न देशभन्दा पछि नभएको दाबी गरेका हुन् ।
उनले भने, “हामी सम्पन्न देशभन्दा पछि छैनौं । हामीले स्वब टेस्ट नि:शुल्क गरेका छौं । धनी र धेरै धनी देशले पनि नि:शुल्क स्वाब टेस्ट गर्न सकेको छैन । हामीले नि:शुल्क गरेका छौं ।”
सुरुमा स्वाब टेस्टका लागि हङकङ पठाएको स्मरण गराउँदै हाल देशभर नै हजारौं नमुना परीक्षण भइरहेको उनले बताएका हुन् । प्रधानमन्त्री ओलीले सन् २०२१ भित्रै मुलरुपमा सबैलाई खोप लगाइसक्नेसमेत दाबी गरेका छन् ।
उनले भने, “सन् २०२१ भित्रै मुलरुपमा खोप लगाइसक्छौं । केही बाँकी रहला ।”
चीनले अहिले पनि खोप लगाइरहेको उल्लेख गर्दै उनले भने, “खोप खुरु खुररु लगाएर एकैछिनमा सकिने होइन । उपयुक्त वातावरणमा राख्नुपर्छ । लिमिट र सामर्थ्य छ ।”
अहिलेको महामारीको समयमा एकजुट भएर लोकतान्त्रिक अभ्यासमा नगरेर आन्दोलन गरिरहेको बताएका छन् । उनले भने, “कोरोना नियन्त्रणका लागि जारी गरिएको लकडाउन आन्दोलन रोक्नका लागि होइन । संसद्लाई पंगु बनाउने, जनतामा जान नदिने, जनतामा जानु अलोकतान्त्रिक भयो भन्ने कोरोना नियन्त्रणका लागि जारी गरिएको मापदण्ड पालना नगर्ने अनि आन्दोलनमा जाने ? यस्तो पनि हुन्छ ?”
प्रतिक्रिया