प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको काम नै देश बर्बाद पार्ने रहेको बताएका छन् । मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डले पार्टी एकतालाई बर्बाद पारेको उल्लेख गर्दै कामै नै बर्बाद पार्ने र बिगार्ने रहेको बताएका छन् ।
उनले भने, “प्रचण्डले विगतदेखि आगतसम्म देशलाई बर्बाद पारेका छन् । प्रचण्डको काम नै देशलाई बर्बाद पार्ने र अराजकतातर्फ लैजाने हो ।”
कांग्रेसले पनि प्रचण्डलाई गुरु थापेर प्रचण्डपथमा हिँड्नु अचम्म लागेको भन्दै उनले टिप्पणी गरेका छन् । उनले थपे, “आफूलाई लोकतान्त्रिक भन्ने दलले पनि प्रचण्डपथमा हिँड्नु अचम्म लागेको छ ।”
प्रचण्डलाई पनि सही मार्गमा लयाउन जरुरी उनले उल्लेख गरेका छन् । उनले थपे, “हामीले विखण्डनमा लागेका सिके राउतलाई ट्र्याकमा ल्याएका छौं । विप्लवलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याएका छौं ।”
अहिले राष्ट्रिय राजनीतिलाई बिथोल्ने काम भइरहेको उनले बताएका छन् । उनले थपे, “अहिले लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरेका शेरबहादुरलाई अगाडि लगाएर लोकतन्त्रलाई बर्बाद पार्ने काम भइरहेको छ । अगाडि लगाउँदैमा नायक हुँदैन । जोत्दा गोरु हलिभन्दा अघि हुन्छ । पछाडि बसेर पनि लोकतान्त्रिक शक्तिलाई कमजोर गर्ने गरिन्छ । त्यसकारण लोकतान्त्रिक शक्तिले गलत बाटोमा मिसलिड हुनु हुँदैन ।”
प्रतिक्रिया