Logo

राजनीति

पार्टी एकता नचाहिएको ओलीको सन्देश : मदन भण्डारीको कार्यक्रममा माधव नेपाल निशाना



नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गर्‍यो । मदन भण्डारी फाउन्डेसनका संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त कार्यक्रमको प्रमुख अतिथि बनाइएको थियो ।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा करिब डेढ घण्टा सम्बोधन गरे । प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनको सुरुवातको पाँच मिनेट मदन भण्डारीको व्यक्तित्व र बाँकी पाँच मिनेट उनले गरेको योगदानको बारेमा चर्चा गरेका छन् । तर, सम्बोधनको बाँकी करिब सवा घण्टा भने अहिले राजनीतिक दलहरुको आलोचना गर्न समय खर्चिए । 

जसको अधिकांश समय आफ्नो पार्टीका वरिष्ठ नेता माधव नेपाललाई नै निशाना बनाए । उनले माधव नेपाललाई एक राजनीति नेताभन्दा निकै तल्लो तहमा ओर्लिएर आलोचना गरे । प्रधानमन्त्री ओलीले माधव नेपाललाई ‘लाज शरम पचेको मान्छे’ को संज्ञा दिए । 

उनले भने, “नेपाली राजनीतिमा अहिले एकजना माधव नेपाल भन्‍ने मान्छे छन् । आफ्नो पार्टीको सरकार ढाल्‍ने र प्रमुख प्रतिपक्षीलाई प्रधानमन्त्री बनाउन लागि परेका छन् । माधव नेपाल लाज शरम पचेका मान्छे हुन् । माधव नेपालले पार्टीलाई ध्वस्त पार्ने कसम खाएको छ । सबैलाई धोका दिन्छु तर देवालाई धोका दिन्‍न भनेर हिँडिरहेका छन् ।” 

उनले माधव नेपालाई यतिमात्रै भनेन् । उनले अगाडि थपे, “पहिले पनि भनेको थिएँ माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हो । अहिले प्रचण्डका पुच्छर भइसके छन् ।”

मदन भण्डारीको देहावसनपछि करिब १५ वर्ष पार्टीलाई नेतृत्व प्रदान गर्दै लोकतान्त्रिक आन्दोलनमा पार्टीलाई अग्रमोर्चामा उभ्याएन नेता नेपालाई प्रधानमन्त्री ओलीले कांग्रेसमा प्रवेश गर्नसक्ने भन्दै टिप्पणी गरे । उनले भने, “पहिलेदेखि प्रचण्डको पार्टीमा रहेका माधव नेपाल अब कुनै दिन कांग्रेसमा प्रवेश गर्छन् ।”

ओलीले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव आएको भन्‍ने समाचारप्रति टिप्पणी गर्दै आफूलाई बहुलाह कुकुरा नटोकेकोसमेत भन्‍न भ्याए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालमाथि आक्रमण गर्दै ओलीले थपे, “अहिले माधव नेपालले धाक केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर लगाइरहेका रहेछन् । मलाई बहुला कुकुरले टोकेको छ र यस्ता मान्छेलाई केपीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ? आफैंले आफ्नो महत्व बढाएर‍, प्रधानमन्त्रीको प्रस्ताव राखे भनेर हल्ला गरिरहेका छन् ।” 

पहिले माधव नेपालले मदन भण्डारीको विरोध गर्ने गरेको भए पनि सोमबार भने मदन भण्डारीको नाममा विज्ञप्ति जारी गरेकोप्रति पनि उनले कटाक्ष गरे । भने, “जिन्दगीभर मदन भण्डारीको विरोध गर्नेले आज हेरेको त विज्ञप्ति जारी गरेछन् । विरोधीले पनि मदन भण्डारीलाई नसम्झिएर धर नै रहेनछ भन्‍ने पनि त देखियो नि ।” 

उनले माधव नेपाल एक अराजक, अनुशासनहीन व्यक्ति भएकोसमेत उल्लेख गरेका छन् । उनले भने, “माधव नेपाल एक अराजक र अनुशासनहीन व्यक्ति हुन् । जुन चिह्नमा चुनाव लडेर पद प्राप्त गर्‍यो, आज त्यसैलाई धोका दिइरहेका छन् । जुन कार्यकर्ता र मतदाताले मत दियो, त्यसैप्रति धोका दिइरहेका छन् ।” 

प्रधानमन्त्री ओलीले आफ्नो समयको अधिकांश समय नेपाललाई निशाना बनाए । उनले विपक्षी गठबन्धनमा गएर राजीनामा किन नदिएको भन्दै पनि प्रश्‍न गरेका छन् । उनले थपे, “विपक्षी गठबन्धनमा सामेल हुने । अनि नेकपा एमालेको वरिष्ठ नेता भन्‍ने ? यस्तो पनि हुन्छ ? पार्टीबाट राजीनामा किन नदिएको । राजीनामा दिएर मैले अर्को पार्टी अँगाले भन्‍नुपर्दैन ? 

ओलीको यस किसिमको अभिव्यक्तिले पनि उनी एमाले एक ढिक्का होस् भन्‍ने पक्षमा नभएको देख्‍न सकिन्छ । ओली समूहका नेताहरुले पनि पार्टी एकताका लागि पहल नगरिने बताइरहेका छन् । 

थप

ओलीले भने – संसद् भवनमा बकवास भइरहेको छ, अरुलाई भाडामा किन नदिने ? 

 

प्रकाशित मिति : असार १४, २०७८ सोमबार  ३ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।