विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीविरुद्ध अख्तियार दुरुपयोग आयोगमा उजुरी परेको छ ।
महासंघको नाममा दर्ता रहेको गोकर्णेश्वर नगरपालिका गोकर्णमा रहेको तीन रोपनी ६ आना जग्गामध्ये करोडौं पर्ने ६ आना जग्गा २३ लाखमा बिक्री गरेको र तीन रोपनी जग्गा हराएको भन्दै अनियमितता गरेको आरोपमा भण्डारीविरुद्ध अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
विश्व हिन्दु महासंघको संस्थागत सदस्य संस्था श्री रुद्रमति युवा समूहले अख्तियारमा उजुरी दिएको हो । काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको दर्ता नम्बर ४० रहेको विश्व हिन्दु महासंघको विधान विपरीत एक व्यक्ति मात्र निर्वाचित गर्ने र अन्य पदाधिकारी तथा सदस्यहरु मनोनयन गर्दै महासंघको नाममा पदीय दुरुपयोग हुँदै आएको उजुरीमा उल्लेख छ ।
एकल नेतृत्वमा सञ्चालन गरिँदै आएको संघको नाममा रहेको तीन रोपनी जग्गा हराएको भनि अनियमितता गरेको उजुरीमा जनाइएको छ । उजुरीमा भनिएको छ, “महासंघको नाममा दर्ता रहेको का.जि. गोकर्णेश्वर नगरपालिका गोकर्णमा रहेको ३ रोपनी ६ आना जग्गा मध्ये कराडौं पने ६ आना जग्गा जम्मा २३ लाखमा बिक्री गरेको र बाँकी रहेको ३ रोपनी जग्गा हराएको भनी बताइएको छ । संघ संस्था ऐन अनुसार कुनै पनि वैधानिक संस्थाले आफ्नो चल अचल सम्पत्ति बिक्री वितरण गर्न पाइँदैन । बहुमत पदाधिकारी र सदस्यहरु बिदेशमा रहेको यस महासंघलाई महासचिव अस्मिता भण्डारीले निजी कम्पनी सरह दुहुनो गाइ बनाई रहेकी छिन् ।”
महासंघमा सदस्यहरुबाट संकलित लाखौं रकमको अक्षयकोष बनाउनु पर्नेमा महासचिव भण्डारीले मनोमानी ढंगले रकम मासेकोसमेत आरोप लगाइएको छ । महासंघको विधान बमोजिम हालसम्म बैठक समेत बस्न नसकेको र एकल व्यक्तिको मनोमानीमा महासंघको विधानको खिल्ली उडाउने काम भएकोले यस्ता प्रकरणहरुको साथै महासचिव अस्मिता भण्डारकिो समेत सम्पत्ति छानबिन गरी दोशी देखिएकाहरुलाई हदैसम्मको कारवाही गर्न माग गर्दै उजुरी दिइएको हो ।
प्रतिक्रिया