नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेका छन् ।
पार्टी अध्यक्ष ओलीले असार १७ गते पत्र पठाउँदै उपाध्यक्ष गौतमलाई बैठकमा सहभागी हुन आह्वान गरेका हुन् । स्रोतका अनुसार उपाध्यक्षको हैसियतमा गौतमलाई पत्र प्राप्त भएपछि उनी बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेका हुन् ।
२०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन गौतम सकारात्मक रहेको यसअघि एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताएका थिए ।
माधव नेपाल पक्षले भने आजको बैठक स्थगित गर्न र अझै सहमतिको लागि छलफल गर्न माग गरेको छ । २०७७ पुस ५ मा नेकपा विभाजन भएपछि एकता अभियान चलाउँदै आएका गौतम अहिले एमालेको दुवै पक्षमा छैनन् ।
उनले एमाले एकता अभियान गठन गरेका छन् । गौतम यसबीचमा संसदीय दलको बैठकमा भाग लिए पनि एमालेको केन्द्रीय कमिटी वा महाधिवेशन आयोजक कमिटी बैठकमा भाग लिएका थिएनन् । यसअघि बालुवाटारमा बसेको ओली समूहको बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेको थियो ।
प्रतिक्रिया