Logo

राजनीति

संसद् विघटनविरुद्धको मुद्दामा जवाफी बहस जारी



प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसद्ले दायर गरेको रिटमाथि संवैधानिक इजलासमा भइरहेको सुनुवाइ सोमबार पनि जारी छ । सोमबार पनि निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरिरहेका छन् । सोमबार वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफ दिइरहेका छन् भने वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिनेछन् । 

निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् । सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई-दुईजना एमिकस क्युरी छनोट भएका छन् । 

एमिकस क्युरीमा सर्वोच्च अदालत बार एसोसिएसनबाट बरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी छन् । नेपाल बारबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकले एमिकस क्युरीमा प्रतिनिधित्व गरेका छन् ।

आइतबार सभामुखका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए भने निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस गरेका थिए । 

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा भइरहेको छ । 

प्रकाशित मिति : असार २१, २०७८ सोमबार  १२ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।