Logo

राजनीति

मेयर ठेकेदार साउँदले जिम्मा लिएको आयोजनाको म्याद पटक-पटक थप्दा पनि काम अलपत्र



कञ्‍चनपुरमा हुलाकी राजमार्ग सडक निर्माण कार्य साढे चार बर्ष अघि निर्माण सुरु भए पनि अझै सम्पन्‍न हुन सकेको छैन । १ फागुन, ०७३ सालमा सडक निर्माणका लागि शिलान्यास गरिएको थियो । सम्झौता अवधि भित्रै राजमार्ग निर्माणको जिम्मा पाएका दुवै कम्पनीले काम गर्न सकेका छैनन् । पहिलो पटक निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजनाबीच ३० महिनाभित्रै काम सम्पन्‍न गर्ने सम्झौता भएको थियो । तर, ५२ महिना बितिसक्दा पनि काम सम्पन्‍न हुन सकेको छैन । 

बाबाहंससिद्धिकी र शर्माजेभी निर्माण कम्पनीले कालोपत्रेको कामको जिम्मा लिएको भए पनि म्याद सकिँदा सम्म पनि काम अधुरै छ । शर्मा जेभी निर्माण कम्पनी परशुराम नगरपालिका मेयर एव कांग्रेस नेता भीम बहादुर साउँदको निर्माण कम्पनी हो । तर, २०७४ सालको स्थानीय चुनावमा कांग्रेसले ठेकेदार मेयरलाई टिकट दिएपछि उनी पर्शुराम नगरपालिकाको मेयरमा विजयी भएका थिए । उनलाई ‘ठेकेदार मेयर’ को भिल्लासमेत भिराइएको थियो । उनीसँग असन्तुष्ट रहेकाहरुले उनलाई टिकट खरिद गरेको आरोपसमेत लगाएका थिए । 

आफू मेयर भए पनि उनको कम्पनीले जिम्मा लिएको निर्माण कार्यमा पनि ढिलासुस्ती भइरहेको छ । सडक निर्माण कार्य समयमै सम्पन्‍न नहुँदा कञ्‍चनपुरको दक्षिणी क्षेत्रका जनताले वषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्रोशित बनेका छन् । 

कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा सहज र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा टेवा पुग्‍न अपेक्षा गरिएको भए पनि ठेकेदार कम्पनीको लापरबाही कारण स्थानीयले समस्या भोग्‍न बाध्य छन् । हुलाकी सडक छेउमै घर भएका बेलौरी नगरपालिका ९ रतनपुरका सुरेन्द्र राज जोशीले चैत-वैशाखमा धुलाम्य भएको सडक अहिले हिलाम्मे भएको बताएका छन् । 

उनले राजनीति गर्ने व्यक्तिलाई नै ठेका दिइने र उनीहरुले राजनीतिलाई व्यापार बनाउने भएकोले नागरिकका समस्यासँग उनीहरुको खासै सरोकार नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । हुलाकी सडक छेउमै घर भएका बेलडाँडी गाँउपालिका १ सिद्धचोकका स्थानीय दिनेश ठकुराठीले सरकारको लापरबाहीक ठेकेदार कम्पनीले बेवास्ता गरेका आरोप लगाएका छन् । “सरकारले ठेकेदारलाई ताकेता गरेन,”उनले भने, “ताकेता नगर्दा ठेकेदारले सडक बनाउन ध्यान दिएन ।”  ठेकेदार कम्पनीका सञ्‍चालक नै स्थानीय सरकारका प्रमुख भए पनि उनले यस्ता काममा ध्यान नदिनु निकै दु:खद भएको स्थानीयको आरोप छ । 

१ फागुन ०७३ मा ३० महिनाभित्रै ६२ किलोमिटर सडक निर्माणका लागि दुवै कम्पनीले आयोजनासँग सम्झौता गरेका थिए । ३० भदौ ०७६ मा पहिलो पटक सम्झौता गरिएको म्याद सकिएर फेरि ८ महिना थप गरेर ३० चैत्र ०७६ सम्म म्याद थप गरिएको थियो । पहिलो पटक म्याद सकिएर थप गएको अवधिमा समेत काम गर्न नसकेपछि फेरि दुवै कम्पनीले ८ र ४ महिना म्याद थप गरेका थिए । ०७७ वैशाखदेखि पहिलो र तेस्रो फेजको काम पाएको शर्माजेभी निर्माण कम्पनीले ४ महिना र दोस्रो फेजको बाबाहंससिद्धिकी ८ महिना थप गरेपनि काम सकेका छैनन । 

हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी एव ईन्जिनियर पदम मडैले कञ्‍चनपुरमा ६२ किलोमिटरमध्ये ३२ किलोमिटरको काममात्रै सकिएको बताएका छन् । दुबै कम्पनीको माघ र जेठमा निर्माण सम्पन्‍न गर्नुपर्ने म्याद सकिँदा पनि काम अधुरो नै रहेको उनले अनलाइनापानालाई जानकारी दिए । 

उनले भने, “म्याद सकिसकेको छ । तर, फेरि म्याद थप्‍नका लागि निवेदन दिएको भए पनि कुनै परिपत्र आएको छैन । बजेट अध्यादेशमार्फत ६ महिना थप गर्ने भनिए पनि हालसम्म औपचारिक जानकारी भने गराइएको छैन ।” 

म्याद सकिएर काम अलपत्र हुँदा पनि ठेकेदार कम्पनी चलाएका मेयरलाई कुनै चासो रहेको देखिँदैन । राजनीतिक पहुँचका आधारमा ठेक्का लिने र काम अलपत्र छोड्‍ने गरेका कारण मुलुकको आर्थिक वृद्धिमा ठूलो धक्का लाग्‍ने गरेको छ भने सर्वसाधारणले सास्ती भोग्‍नु परेको छ । तर, यसरी समयमै काम नसक्न‍े ठेकेदार कम्पनीलाई कारबाही भने हुने गरेको छैन ।  पहिलो र तेस्रो फेजको काम पाएको शर्माजेभी निर्माण कम्पनीले दोस्रो पटक म्याद सकिएको आठ महिना ०७७ चैतसम्म पनि काम नसकेर फेरि म्याद थपका लागि फाइल पठाएको हो । 

पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे र हिलाम्मे हुने गरेको वर्षौं भइसकेको छ ।  तीन फेजमा ठेक्का भएको सडक पहिलो र तेस्रो फेज  शर्माजेभी निर्माण कम्पनी र दोस्रो फेज बाबाहंससिद्धिकीले निर्माणको ठेक्का पाएका थिए । कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता अनुरुप चालु आर्थिक वर्ष २०७७-०७८ सम्म ६९ करोड भुक्तानी गरिएको छ । 

पहिलो फेज ३५ करोडमा गरिएको सम्झौता २४ करोड भुक्तानी, दोस्रो ४१ मा २२ करोड र तेस्रो ४१ करोडमा २२ करोड रुपैयामा सम्झौता गरिएको भएपछि सम्झौता अनुरुप काम भएको छैन । हुलाकी राजमार्ग आयोजना कार्यालयले कुल ६२ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएका दुवै कम्पनीले ६८ प्रतिशत काम गरेको र ५० प्रतिशत भुक्तानी पाइसकेको जनाएको छ । 

शर्माजेभी निर्माण कम्पनीका ईन्जिनियर रोशन भट्टले सरकारी निकायबाटै अवरोध हुँदा म्याद भित्रै काम नसकिएको बताएका छन् । उनले केही विवादका कारण आफ्नो भागको दुई किलोमिटर सडक मात्र बाँकी रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : असार २४, २०७८ बिहीबार  ७ : ४६ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।