Logo

राजनीति

एमाले कार्यदलले जुटाउला त सहमति ?



नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक शुक्रबार पनि बस्दै छ । 

१० सदस्यीय कार्यदलको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

गएको १० दिनदेखि विवाद मिलाउन कार्यदलको बैठक निरन्तर भइरहे पनि वार्तामा कुनै प्रगति हुनसकेको छैन ।

बिहीबार साँझ बस्ने कार्यदलको बैठक सहमतिको टुंगो लाग्ने नेताहरूले दाबी गरेका थिए । तर, एमाले नेता विष्णु पौडेल अनुपस्थित भएपछि केहीबेरमै कार्यदलको बैठक सकिएको थियो ।

विवाद समाधनको लागि भन्दै बुधबार राति एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । तर, त्यो भेटवार्ता पनि एमाले विवाद समाधान गर्नतर्फ उन्मुख भएन ।

कार्यदलका सदस्य सुवास नेम्वाङ शुक्रबार बस्ने कार्यदलको बैठक सहमति हुने बताएका छन् ।

बिहीबारको बैठकपछि कार्यदलका अर्का सदस्य घनश्याम भुसालले पार्टी विवाद जहाँको त्यहीँ रहेको बताएका थिए ।
दश दिनदेखि चलिरहेको छलफलमा खासै प्रगति नभएको उनको भनाइ थियो ।

एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् ।

नेता नेपालले पार्टीलाई २०७५ जेठ २ को स्थितिमा फर्काउन माग गर्दै आइरहेका छन् ।

एमाले नेता विष्णु रिजाल अन्ततः एमालेमा एकता हुनेमा विश्वास देखिन्छन् । 

प्रमुख नेताहरू एक अर्काप्रति विश्वस्त हुन नसक्दा समस्या देखिएको उनको भनाइ छ ।

‘एकातिरबाट हेर्दा कार्यदलस्तरमा विषयवस्तुमा मिल्न बाँकी केही देखिँदैन, ५ बुँदामा सबै समेटिएको छ। उठेका सबै विषय सम्बोधन भएका छन्,’ रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘अर्कोतिरबाट हेर्दा प्रमुख नेताहरूबीच खास कुरा मिलेकै छैन। एक अर्काप्रति विश्वस्त हुन सक्नुभएको छैन। आशा गरौं, यो अवस्था छिट्टै हट्छ ।’

आन्तरिक विवाद समाधान गर्न एमालेका दुबै पक्ष पाँच–पाँचजना सदस्यहरू रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

यसैगरी नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन् ।

 

प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार  ८ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।