नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीको नेतृत्वका लागि नेताहरुले आ-आफ्नो दाबी प्रस्तुत गरेका छन् । सभापति शेरबहादुर देउवाले आफू १४ औं महाधिवेशनमा पनि सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् भने उनकै समूहमा निधिले पनि उम्मेदवारीको घोषणा गरेका छन् ।
तर, संस्थापनइतर समूहमा भने उम्मेद्वारका आकांक्षीहरु धेरै छन् । जसका कारण फेरि पनि देउवा नै सभापतिमा दोहोरिने चिन्तामा संस्थापन इतर समूह रहेको छ । पौडेल समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा.रामशरण महत, नेताहरू, डा. शेखर कोइराला र सुजाता कोइरालाले सभापतिका लागि दाबी गरेका छन् ।
उनीहरुबाट साझा उम्मेदवार चयन गर्न सकस भइरहेको छ । बिहीबार पनि उनीहरुले छलफल गरेका थिए । तर, सभापतिको दाबीबाट कसैले पनि पछि नहट्ने देखिएपछि इतर समूहमा साझा उम्मेद्वारीका लागि कसरत भइरहेको छ ।
साझा उम्मेदवारी खोजीका लागि शुक्रबार अपराह्न चार बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेल समूहका सभापतिका आकांक्षीबीच छलफल हुन लागेको हो । १३ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्याशी अर्जुननरसिंह केसीको अग्रसरतामा पौडेल पक्षका सभापतिका सातजना आकांक्षीबीच छलफल हुन लागेको हो ।
पौडेल पक्षबाट सभापतिमा दाबी गरिरहेका युवा नेता कल्याण गुरुङलाई पनि छलफलमा बोलाइएको छैन । पौडेल पक्षले यसअघि असार ११ गते पनि आफू पक्षीय केन्द्रीय सदस्यको भेला गरेर सभापति उम्मेदवारबारे छलफल गरेको थियो ।
त्यहाँ सिंहले आफू अगाडि बढिसकेको भन्दै पौडेललाई यस पटक समर्थन गर्न नसक्ने बताएका थिए । उक्त छलफलमा ८ जना नेताहरूले आफू सभापतिको आकांक्षी रहको बताएका थिए । पौडेल पक्षका शीर्ष नेताबीच बिहीबार पनि छलफल भएको थियो । बिहीबारको छलफल क्रियाशील सदस्यता सम्बन्धी केन्द्रित रहेको महामन्त्री शशाङ्क कोइरालाको भनाइ थियो ।
प्रतिक्रिया