नेकपा एमाले एकताका लागि गठित कार्यदल बैठकले शुक्रबार पनि कुनै निष्कर्ष दिन सकेन । सिंहदरबारस्थित अर्थमन्त्रालयमा शुक्रबार बसेको नेकपा कार्यदलको बैठक सकिएको छ । शुक्रबारको बैठकमा सहमति नजिक पुगेको कार्यदल सदस्यसमेत रहेका नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
उनले भने, “आजको छलफलमा हामी सहमतिको नजिक पुगेका छौं । बैठक भोलि अपराह्न बसेर सबै बुँदा टुंग्याउने र निष्कर्षमा पुग्ने छौं ।”
बैठक शुक्रबार दिउँसो करिब १ बजे सुरु भएको थियो भने करिब ८ बजे बैठक सकिएको हो । बैठक बिहान ११ बजे बस्ने बताइए पनि आ-आफ्नो गुटको छलफलमा व्यस्त भएपछि ढिलो गरि बैठक सुरु भएको थियो ।
प्रवक्ता ज्ञवालीले कुन-कुन बुँदा सहमति भयो भन्ने कुरालाई पनि खुलाउन चाहेनन् । विगत १० दिनदेखि विवाद मिलाउन कार्यदलको बैठक निरन्तर भइरहे पनि वार्तामा कुनै प्रगति हुनसकेको छैन ।
बिहीबारको कार्यदलको बैठकले शुक्रबार सहमतिको टुंगो लाग्ने नेताहरूले दाबी गरेका थिए । तर, शुक्रबा पनि बैठक निष्कर्षविहीन बनेको हो । बिहीबार साँझको बैठकमा त एमाले नेता विष्णु पौडेल अनुपस्थित भएपछि केहीबेरमै कार्यदलको बैठक सकिएको थियो ।
विवाद समाधनको लागि भन्दै बुधबार राति एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । तर, त्यो भेटवार्ता पनि एमाले विवाद समाधान गर्नतर्फ उन्मुख भएन । कार्यदलका सदस्य सुवास नेम्वाङ शुक्रबार बस्ने कार्यदलको बैठक सहमति हुने दाबी गरेका थिए ।
आन्तरिक विवाद समाधान गर्न एमालेका दुबै पक्ष पाँच–पाँचजना सदस्यहरू रहेको कार्यदल गठन गरेको छ । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यसैगरी नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन् ।
प्रतिक्रिया