नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष एवं समाजसेवी रामवावु प्रसाई (खनुपरूदेप्रकाहा) को आज दिउँसो १२ः३० बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भयो । स्वर्गीय प्रसाई सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष थिए ।
१९७८ को माघ १५ मा जन्मनु भएका प्रसाई सय वर्ष पुग्न लाग्दै थिए । उनको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय प्रसाईले पुराएका हुन सक्रिय योगदानको नेपाली कांग्रेस स्मरण गर्दछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै “नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष, अग्रज समाजसेवी, सत्यवादी नेताको रुपमा आफ्नो बेग्लै पहिचान बनाउनु भएका रामवावु प्रसाईको निधनको खबरले मलाई दुःखीत बनाएको छ ।
स्वर्गीय प्रसाईले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।
प्रतिक्रिया