“कस्तो हो तिम्रो खड्गको धार, आफूलाई सिध्याउने ?
न्यायका प्यारा श्रमशीलहरुको चित्कारमा रमाउने ?
सत्ताको लागि विधान मिच्दै नैतिकता गुमाउने
मित्रघात गर्दै स्वार्थका लागि सामन्त समाउने ?
शक्ति र धनको उन्मादमा तिमीले सुखानी बिर्सेछौं
जाली र झेली देशमारातर्फ किन हो फर्केछौं ?”
नेकपा एमाले उपाध्यक्ष भीम रावलले आफ्नो उपाध्यक्ष पद खोस्दै प्रधामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको टोलीले साधारण सदस्यबाट समेत कारबाही गरेपछि एक सार्वजनिक कार्यक्रममा उनले उक्त कविताको अंश वाचन गरेका थिए । उनले पार्टी अध्यक्ष ओली ‘देशमारा’ तर्फ फर्किएको आरोप लगाउँदै स्वार्थका लागि सामन्त गोयलसँग सम्झौता गरेको उनको आरोप थियो । विधि, विधान मिचेर अघि बढेका ओलीले संसद् विघटनलाई गल्ती भएको स्वीकार गर्नुका साथै प्रधानमन्त्री पद र अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।
प्रधानमन्त्रीमा नियुक्त भएदेखि ओलीको आलोचना सुरु गरेका रावललाई कयौं पटक मन्त्री पद नपाएको कारण विरोध गरेको आरोपसमेत लाग्यो । तर, नेता रावलले भने आफूलाई मन्त्री पद नचाहिएको प्रष्ट पारेका थिए । नेकपा विभाजदेखि नेकपा एमालेको विभाजनसम्मको करिब एक वर्षको अवधिमा पार्टीभित्रै प्रधानमन्त्रीका सबैभन्दा ठूलो आलोचकको रुपमा नेता रावल रहे । तर, करिब १० दिन लामो कार्यदलको बैठकपछि आइतबार राति १० बजे १० बुँदामा सहमति गर्दै एमाले एकता भएको नेता रावलले घोषणा गरे ।
उक्त १० बुँदे सहमतिपत्रप्रति वरिष्ठ नेता भीम रावलले हस्ताक्षर गरे पनि उक्त समूहको नेतृत्व गर्दै आएका नेता माधव कुमार नेपालले भने असन्तुष्टि व्यक्त गरिरहेका छन् । नेता नेपालले हस्ताक्षर फिर्ता नहुने र सर्वोच्च अदालतको फैसलाअघि कुनै पनि सम्झौता हुन नसक्नेसमेत स्पष्ट पारेका छन् । त्यसैगरि नेपाल समूहकै नेताहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, राजेन्द्रकुमार राईलगायतले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु रघुजी पन्त र घनश्याम भुसालले उक्त सहमति पत्रमा हस्ताक्षर नगरेको बुझिएको छ । कार्यदलमा रहेका सबै सदस्यको हस्ताक्षर नभएकै कारण हस्ताक्षरसहितको सहमतिपत्र बाहिरिएको छैन । संसद् विघटनका विषयमा सर्वोच्च अदालतले सोमबार फैसला गर्नसक्ने कुराई केन्द्रित गर्दै प्रधानमन्त्री ओलीले एकताको नाममा केही अन्योलता सिर्जना गर्न खोजेको हुनसक्नेप्रति राजनीतिक टिप्पणीकारहरुले संकेत गरेका छन् ।
प्रधानमन्त्री ओलीका कटु आलोचक रावल भने कसरी यस्तो सहमतिका लागि तयार भए भन्ने आम चासोको विषय बनेको छ । यसअघि असार २० गते आइतबार साँझ प्रधानमन्त्री ओलीले भीम रावललाई बालुवाटार बोलाएका थिए । बालुवाटारमा भएको भेटपछि रावल यु-टर्न भएका हुन् ।
उक्त भेटमा नेता रावललाई प्रधानमन्त्री ओलीले कार्यवाहको ‘ललिपप’ देखाएको नेपाल समूहकै नेताहरुले बताइरहेका छन् । नेपाल समूहका एक नेताले भने, “रावलजीलाई भेटेर ओलीजीले आफूलाई ईश्वर पोखरेललाई कुनै भरोसा नलागेकाले उहाँलाई भूमिकाविहीन भएको बताउँदै, अब पार्टी चलाउने तपाईंले नै हो भन्नुभएछ । उस्तै परे कार्यवाहक अध्यक्ष नै दिन्छु भन्नुभएछ, त्यसपछि रावल कमरेडको उत्साह नै अर्कै भएर गयो, ओलीजीको प्रतिगमन बिर्सिनुभयो ।”
प्रधानमन्त्री ओलीसँगको भेटपछि नेता रावलले माधव नेपालको भीड गलत बाटोमा हिँडेको टिप्पणीसमेत गर्ने गरेका थिए । ती नेताले भने, “माधव कमरेडको भीड गलत बाटोसमेत बताउन थाल्नु भएको थियो ।” उनको उक्त अभिव्यक्तिपछि माधव नेपालले भनेका थिए, “भीड गलत बाटोमा हिँडेको छ भने एक्लै भए पनि सही बाटोमा हिँड्नू ।”
केही दिनदेखि नै सहमति आउने भन्दै बस्ने गरेको कार्यदलको बैठक निष्कर्षविहीन हुने गरेका थिए । तर, आइतबारको बैठक भने निरन्तर १० घण्टाभन्दा बढी बस्यो र १० बुँदामा सहमति गर्यो । नेता नेपाललको असहमतिका बाबजुद कार्यदल संयोजक रहेका भीम रावलले १० बुँदामा सहमति जनाए । तर, नेपाल समूहकै केही नेताहरुले भने ओलीले फेरि झुक्याएको र फेरि धोका दिनसक्ने बताइएको छ ।
प्रतिक्रिया