Logo

राजनीति

सर्वोच्चको फैसलापछि कांग्रेस नेताहरु कसले के भने ? 



सरकारले गरेको असंवैधानिक कदमलाई बदर गर्दै सर्वोच्च अदालतले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । सर्वोच्च अदालतको उक्त आदेशको नेपाली कांग्रेसका नेताहरुले स्वागत गरेका छन् । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भएको प्रतिक्रिया दिएका छन् । उनले थपेका छन्, “संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ । यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाइ !” 

त्यसैगरि महामन्त्री शशांक कोइरालाले सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्धतिको रक्षा गरेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, “लोकतन्त्र भनेकै संविधानको मर्म अनुरुप शासित हुने व्यवस्था हो । सर्वोच्च अदालतको फैसलाको स्वागत र सम्मान गर्दछु ।” 

नेपाली कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँडले पनि सर्वोच्चको निर्णयलाई स्वागत गर्दै गठबन्धनले सल्लाह गरेर सरकार निर्माण गर्ने बताएका छन् । 

त्यसैगरि पूर्वमहामन्त्री प्रकाशमान सिंहले फेरि विधिको शासनको जित भएको बताएका छन् । उनले भने, “अधिनायकवाद विरुद्ध नेपाली जनताको जित भएकाेछ । सर्बसत्ता बाद पराजित भएको छ ।”

नेता चन्द्र भण्डारीले सर्वोच्चले गरेको प्रतिनिधिसभा पुनर्स्थापना र नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको परमादेश संवैधानिक र स्वागतयोग्य ऐतिहासिक फैसला भएको बताएका छन् । उनले भने, “अनुभव र व्यवहारबाट संविधान परिपक्व हुँदै जान्छ भने नेताहरु पनि नियन्त्रित हुँदै जान्छन । प्रजातन्त्रको सुन्दरता विधिबाट  प्रकट हुन्छ ।”
 

प्रकाशित मिति : असार २८, २०७८ सोमबार  ३ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।