प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा सोमबार साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्न लागेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
उनले अनलाइनपानासँगको कुराकानीमा भने, ‘बैठकमा सर्वोच्च अदालतको फैसलापछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।’
यतिबेला नेपाल कांग्रेस आन्तरिक छलफलमा जुटेको छ ।
अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने फैसला सुनाएको छ ।
सोमबार बसेको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
(फाइल तस्विर)
प्रतिक्रिया