सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेसँगै नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । यससँगै देउवा सोमबार साँझ ५ बजे सम्ममा प्रधानमन्त्रीमा नियुक्त हुनेछन् भने साउन ३ गते अपराह्न ५ बजेभित्रै प्रतिनिधिसभा बैठक बोलाउन बाध्य हुनेछन् ।
सभापति देउवा अब पाँचौँ पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनेछन् । यससँगै अबको प्रक्रिया के हुन्छ ? अर्को चुनाव कहिले हुन्छ ? भन्ने जनचासो बढ्न थालेको छ ।
सर्वप्रथम त अदालतको परमादेश अनुसार शेरबहादुर देउवा सोमबार साँझ सम्ममा नेपालको प्रधानमन्त्रीमा नियुक्त हुने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् । उनले भने “अब छलकपट गर्ने छिद्रहरू अदालतले बन्द गरिदिएको छ । शेरबहादुर देउवा भोलि साँझसम्ममा प्रधानमन्त्रीमा नियुक्त हुनुहुनेछ ।”
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी
वरिष्ठ अधिवक्ता त्रिपाठीका अनुसार सर्वोच्चले तोकेको समयमा प्रतिनिधि सभा बैठक बोलाउन नवनियुक्त प्रधानमन्त्री बाध्य हुनेछन् । त्यसपछि नियुक्ति भएको मितिले एक महिना भित्र देउवाले विश्वासको मत लिनुपर्ने हुन्छ ।
सर्वोच्च अदालतले सांसदलाई पार्टीको ह्विप नलाग्ने भनेसँगै देउवाले विश्वासको मत पाउने आधार बलियो भएको वरिष्ठ अधिवक्ता त्रिपाठीको तर्क रहेको छ । उनले भने “अदालतले नै शेरबहादुर देउवालाई विश्वासको मत पाउने आधार बलियो बनाइदिएको छ । सांसदलाई पार्टीको ह्विप नलाग्ने र सांसदहरुलाई कारबाही नगर्न भनेपछि उहाँले विश्वासको मत प्राप्त गर्ने आधार बलियो भएको हो ।”
देउवालाई विश्वासको मत लिन एक महिनाको समय रहेको छ । त्यसपछि विश्वासको मत पाए भने उनको कार्यकाल २०७९ मङ्सिरसम्म अर्थात् १७ महिना रहने वरिष्ठ अधिवक्ता त्रिपाठी बताउँछन् । उनले भने “विश्वासको मत पाउँदा बाँकी रहेको कार्यकालमा देउवा नै प्रधानमन्त्री रहनुहुन्छ । यदि विश्वासको मत प्राप्त नभएमा पुन: प्रतिनिधि सभा विघटन हुनेछ र ६ महिना भित्रमा मध्यावधि निर्वाचन हुनेछ । जसको नेतृत्व कामचलाउ सरकारको रूपमा देउवाले नै गर्नुहुन्छ ।”
निर्वाचन पछि भने संददीय अंकगणितका आधारमा पुन: संविधानको धारा ७६ (१) अनुसार नै नयाँ सरकार बन्ने त्रिपाठी बताउँछन् ।
प्रतिक्रिया