Logo

राजनीति

सरकार बनाउने ठाउँ खोज्‍न अन्तै जानुपर्ने अवस्था सिर्जना भयो : एमाले 



नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाबाट सरकार बनाउने ठाउँ खोज्‍न अन्तै जानुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ । सोमबार बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले अदालतको फैसला निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउन खोजेको ठहर समेत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अनौपचारिक बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले नेपालको लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनाहरुलाई खल्बल्याउने काम गरेको बताए ।

ज्ञवालीले भने, “सरकार बनाउने संविधानका आफ्नै व्यवस्थाहरु छन् । आजको फैसलाबाट हामीले सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने भएको छ । सर्वोच्चले प्रधानमन्त्री नियुक्त गर्ने लोकतन्त्रमा कल्पनाबाहिरको अभ्यास आजबाट भएको छ । यसले हामीलाई चिन्तित तुल्याएको छ ।”

बैठकपछि निर्णय सुनाउँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, “अदालतले लोकतन्त्र खल्बल्याउने काम गरेको छ । आजको फैसलाले शक्ति सन्तुलनका पिल्लर हल्लाएको छ । अब सरकार खोज्न संसद् नभएर अन्त जानुपर्ने अवस्था आएको छ । ३२ वर्षअघि समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट पसेको आभास हुन्छ ।”

सर्वोच्चको फैसलाले दलहरुले संघर्ष गरेर ३२ वर्षअघि समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभास भएको एमालेले जनाएको छ । एमालेले सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिबारे औपचारिक धारणा तय गर्न स्थायी कमिटीको औपचारिक बैठक मंगलबार बोलाएको छ ।

यसैबीच, सर्वोच्च अदालतले सोमबार गरेको फैसलासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुने भएका छन् । सर्वोच्चले सोमबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको हो ।

प्रकाशित मिति : असार २८, २०७८ सोमबार  ७ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।