प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा भए पनि सर्वोच्च अदालतको परमादेश शेरबहादुर देउवाको पक्षमा भएको बताएका छन् । उनले भने, “जनताको जनादेश मेरो पक्षमा हुँदा-हुँदै पनि सर्वोच्चको परमादेशले म फेरि दोस्रो पटक प्रधानमन्त्री पदबाट बिदा लिँदैछु ।”
मलाई प्रधानमन्त्री पदबाट हट्नुपर्यो भन्ने कुनै कारण नभएकोसमेत उनले बताएका छन् । उनले भने, “दलीय प्रणाली र लोकतान्त्रिक संरचनामाथि जुन किसिमको खेलाँची हुँदैछ, त्यसप्रति मेरो चिन्ता छ ।” अदालतको फैसलाका कारण म बाहिरिनुपर्यो भन्ने चिन्ताले मैले यो कुरा उठाएको नभइ लोकतन्त्रको रक्षाका विषयमा समस्या आउनसक्ने भएकोले प्रश्न उठाएको बताएका छन् ।
उनले कोभिड-१९ लाई नियन्त्रण गर्ने चरणमा प्रवेश गरेको र सबैलाई खोप लगाउने अवस्था पुगेको दाबी गरेका छन् । उनले भने, “खोपको माग र आपूर्तिको असन्तुलनका बीचमा पनि नेपालले खोपलाई निकै प्राथमिकताका साथ छोटो समयमा आफ्ना नागरिकलाई खोपको व्यवस्था गरेका छौं । सन् २०२१ भित्र मुलत: सबै जनसंख्यालाई खोप लगाइसक्ने छौं ।”
प्रतिक्रिया