Logo

राजनीति

नेपाल समूहको आग्रह ओलीद्वारा अस्वीकार, ‘ओलीको कार्यकाल ऐतिहासिक’



एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले पार्टीको स्थायी कमिटी बैठक रोक्‍न गरेको आग्रह पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गेरका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेका पार्टीको स्थायी कमिटी बैठकले पार्टीको ओलीको कार्यकाल ऐतिहासिक भएको ठहर गरेको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने, “सर्वोच्च अदालतले परमादेशबाट प्रधानमन्त्री चुन्‍ने र हटाउने कदमले भोलिका दिनमा समस्या उत्पन्‍न गर्नसक्छ, ओली प्रधानमन्त्रीमा नियुक्त भएका कामहरुको समीक्षा गरिएको छ । पार्टी अध्यक्षज्यूको कार्यकाल ऐतिहासिक रहेको पार्टीको ठहर छ ।” 

बैठक रोक्न माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूसँग बैठकस्थलमा पुगेका थिए । आफूहरूले बैठक रोक्न गरेको आग्रहलाई अध्यक्ष ओलीले अस्वीकार गरेको नेता भीम रावलले जानकारी दिए । 

रावलले आफूहरूले १० बुँदे सहमति कार्यान्वयन गरी एमालेको एकता आवश्यक रहेको बताएका थिए । उनले भने, “पार्टी अध्यक्ष निवास बालकोट जाँदा दिएको अभिव्यक्तिले गाह्रो परिस्थिति ल्याएको छ । हामीले दलको बैठक पनि स्थगित गर्न भनेका छौं ।”

तर अध्यक्ष ओलीबाट ठोस कुरो केही नआएको उनले बताए । उनले भने, “हामी पार्टी एकताप्रति जिम्मेवार छौं भनेर अध्यक्षलाई भनेका छौं ।” उनले आफूहरूको आग्रह ओलीले नमानेपछि बैठक स्थलबाट बाहिरिएको बताए । 

आफूहरूले पार्टी एकतामा जोड दिँदै १० बुँदे सहमति गरेको नेपाल पक्षका नेताहरू बताउँछन् । सहमतिलाई स्थायी र केन्द्रीय कमिटी बैठकमा लैजाने सहमति भएको थियो । यस्तै सहमतिको बुँदामा कार्यदलले गरेको सिफारिस अनुमोदन गरेर एमालेलाई एकताबद्ध बनाउने उल्लेख छ । तर ओली पक्षले एकलौटी ढंगले बैठक बोलाएपछि नेपाल पक्षी कार्यदल त्यसलाई रोक्न माग गर्दै बैठक स्थलमा पुगेको थियो ।

प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार  १ : ३९ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।