केपी शर्मा ओलीको बहिर्गमनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राज्यकोष दोहोनको चरित्रलाई निरन्तरता दिन खोजेको भन्दै आलोचना भइरहेको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको पदाधिकारी बैठक बालुवाटारमा नै बोलाएपछि उनको आलोचना हुन थालेको हो ।
बृहत नागरिक आन्दोलनले ट्विटमार्फत बालुवाटारलाई पार्टीको बैठकस्थल बनाएर जनताको संकलित करको अपमान नगर्न ध्यानाकर्षण गराएको छ । बृहत नागरिक आन्दोलनले ट्विट गर्दै भनेको छ, “नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टी बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरत दिन खोजेका छन् ।”
थप भनिएको छ, “बालुवाटारलाई पार्टी बैठकस्थलमात्र होइन, पार्टी नेता-कार्यकर्ता आश्रय, विश्राम र भेटघाटस्थलसमेत नबनाउन र जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न बृहत नागरिक आन्दोलन सरकारको अविलम्ब ध्यानाकर्षण गर्दछ ।”
देउवा शुक्रबार बालुवाटार प्रवेश गरेका हुन् । उनले शुक्रबार नै पार्टीको पदाधिकारी बैठक बालुवाटार बोलाएपछि आलोचना सुरु भएको हो । यसअघि प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले पनि पार्टीका र गुटका सबै बैठकहरु बालुवाटारमा नै गर्न थालेपछि उनको चर्को आलोचना भएको थियो ।
प्रतिक्रिया