Logo

राजनीति

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेशको भण्डाफोर गर्ने एमालेको निर्णय 



नेकपा एमाले संसदीय दलको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशविरुद्ध भण्डाफोर गर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतले दलीय व्यवस्था र लोकतन्त्रको उपहासग गरेको ठहर गर्दै सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापनासहितको परमादेशको भण्डाफोर गर्ने निर्णय गरेको हो । 

बैठकले मुलुकलाई निर्दलीय व्यवस्थातिर धकेल्ने गरी फैसला गरेको जिकिर गर्दै जनतामाझ गएर भण्डाफोर गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । उनले भने, “सर्वोच्च अदालतले दलीय व्यवस्थामाथि नै प्रहार गरेको छ । सर्वोच्चको फैसलाविरुद्ध हामी भण्डाफोर अभियानमा जान्छौँ ।”

बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानका धारा र उपधाराको अपव्याख्या गर्दै जनमतलाई बेवास्ता गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको एमालेको भनाइ छ ।

बैठकले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप पुर्‍याउन सरकारलाई दबाब दिने र बाढी पहिरोका घटनाका मृतकको परिवारलाई राहत र घाइतेको उपचारका लागि सरकारसँग माग गर्ने निर्णय पनि गरेको भट्टराईले जानकारी दिए । 

यसअघि बसेको एमाले स्थायी कमिटी बैठकले एमाले एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ । यससँगै एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिनेसमेत निर्णय गरेको छ । 

फाइल तस्बिर ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।