नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजजिल्ला तनहुँका केन्द्रीय सदस्यहरुले आसन्न महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग सहकार्य गर्न आग्रह गरेका छन् । वरिष्ठ नेता पौडेलले सोमबार गृहजिल्ला तनहुँका नेताहरुसँग छलफल गरेका छन् ।
उनले आसन्न महाधिवेशनका लागि आफ्नो पक्षमा माहोल मिलाइदिन आग्रह गरेका हुन् । तनहुँबाट केन्द्रीय सदस्य रहेका नेताहरुसँग छलफल गर्दै वरिष्ठ नेता पौडेलले आसन्न महाधिवेशनमा आफ्नो पक्षमा माहोल मिलाइ दिन आग्रह गरेका हुन् ।
संस्थापननिकट एक केन्द्रीय सदस्यले नेता पौडेललाई सभापति शेरबहादुर देउवासँग सहकार्य गर्न सुझाव दिएका थिए । तर, पौडेलले भने आफू सभापतिमै उम्मेदवारी दिने भन्दै अन्य लाभका पदमा चासो नरहेको प्रतिक्रिया दिएका थिए ।
तनहुँबाट कांग्रेस केन्द्रीय समितिमा पौडेलसहित शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई र ध्रुव वाग्ले रहेका छन् । वाग्ले आमन्त्रित केन्द्रीय सदस्य हुन् । आइतबार काठमाडौंमा चार जना केन्द्रीय सदस्यसँगको छलफलमा नेता पौडेलले आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । संस्थापनइतर समूहमा आधा दर्जन बढी नेतृत्वका आकांक्षी रहेका बेला पौडेलले गृहजिल्लाका नेताहरुसँग भने, “अब म अगाडि बढिसकें । अघिल्लो पटक प्राविधिक रुपमा सभापतिमा हारेको हुँ । अहिले मेरो पक्षमा माहोल छ । तपाईंहरुले पनि मलाई सहयोग गर्नुपर्यो ।”
तनहुँका चारैजना केन्द्रीय सदस्य पौडेल समूहमा छैनन् । केन्द्रीय सदस्य भट्टराई, भण्डारी र वाग्ले संस्थापन समूहका नेता हुन् भने अर्का केन्द्रीय सदस्य पौडेल तेस्रो धारसँग नजिक छन् ।
संस्थापनइतर समूहमा नेता पौडेललाई आफ्नै जिल्लाका नेताहरु मिलाउन नसकेको आरोप लाग्दै आएको थियो । छलफलमा सहभागी एक केन्द्रीय सदस्यले गृह जिल्लाका नेताहरुसँग नेता पौडेलले संवाद गर्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । केन्द्रीय सदस्यहरुले नेता पौडेललाई आफ्नो समूहबाट साझा उम्मेदवार बन्न सुझाव दिएका छन् ।
नेता पौडेल १३ औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । उनले आसन्न महाधिवेशनमा पनि नेतृत्वमा प्रतिस्पर्धा गर्ने चाहना राखेको भए पनि उनकै समूहभित्र विरोध हुँदै आएको छ । उनको समूहमा महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला, कल्याण गुरुङलगायतले सभापतिमा दाबी गरेका छन् ।
प्रतिक्रिया