Logo

राजनीति

साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय, अरु के-के निर्णय भए ? 



सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीको चाड बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

यस्तै सरकारले सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई आगामी असोज मसान्तसम्म विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको कार्कीले जानकारी दिए ।

सरकारले भारतमा सातामा तीन वटा हवाइ उडान गर्ने भएको छ । कोरोनाको संक्रमण न्यूनीकरण गर्नका लागि गरिएको निषेध आदेशपछि सातामा एक हवाइ उडान हुने गरेकाले अब सातामा तीन उडान गर्ने गरी निर्णय गरिएको हो । 

प्रवक्ता कार्कीले भारतसँग एयरबबलमार्फत् सातामा तीन उडान हुने जानकारी दिएका हुन् । सम्बन्धित देशका नागरिकलाई मात्र हवाई सेवा प्रदान गरिने उडानलाई एयर बबल भन्ने गरिन्छ । उनले भने, “भारतसँग हवाइ सम्झौताअनुसार हप्तामा एउटा उडान हुने गरेको थियो। अब त्यसलाई तीन वटा पुर्‍याउने निर्णय भएको छ ।” 

भारत र नेपाल दुवै देशका एक-एक वायुसेवा कम्पनीले यसअघि सातामा एकएक उडान गर्दै आएका थिए । कोरोना संक्रमण विस्तार कम हुँदै गएको अवस्थामा निषेध आदेशको स्वरूप परिवर्तन गरिएपछि सरकारले एयर बबलको संख्या बढाएको हो। अब भारत र नेपाल दुवै देशका वायुसेवा कम्पनीले सातामा ३-३ वटा उडान गर्न पाउने छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिकतर्फको सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल नियुक्त भएका छन् । बैठकले प्रमुख विशेषज्ञ पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । साढे २ वर्षपछि स्वास्थ्य मन्त्रालयले सेवातर्फ सचिव पाएको छ । 

तत्कालीन स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई २०७५ साल मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेदेखि सरकारले स्वास्थ्य सेवातर्फको सचिव पद नै हटाएको थियो । गत असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव पदको दरबन्दी स्वीकृत गरेपछि स्वास्थ्य सचिव नियुक्तिका लागि प्रक्रिया अघि बढेको थियो । 

प्राविधिक सचिव पाएसँगै अब पुनः स्वास्थ्य मन्त्रालयमा प्रशासन र प्राविधिक तर्फ गरी दुई सचिव रहनेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि १२ औं तहका तीन जनाको नाम सिफारिस गरिएको थियो ।  सिफारिस समितिले सचिवका लागि प्रमुख विशेषज्ञहरु डा. पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र दीपेन्द्ररमण सिंहलाई सिफारिस गरेको थियो । मन्त्रीपरिषद्ले डा. पोखरेललाई नियुक्त गरेको हो ।

यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत नियुक्ति सिफारिसको निर्णय बदर गरेको छ । यससँगै विभिन्‍न ११ देशका लागि नियुक्ति सिफारिस भएका राजदूतहरुको फिर्ता हुने भएका छन् । 

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  ६ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।