Logo

राजनीति

 केपी ओली ‘महालाल गद्दार’ हुन् : मेटमणि चौधरी



सर्वोच्च अदालतको फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि सुरु भएको नेकपा एमालेभित्रको विवाद चर्किएर वारपारको स्थितिमा पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका नेताहरुले विश्वासको मत दिएपछि एमाले फुटको स्थितिमा पुगेको राजनीतिज्ञहरुले विश्लेषण गरेका छन् । नेताहरुले एक-अर्कालाई आरोप-प्रत्यारोप गर्ने क्रम थप बढ्दै गएको छ भने एकताको सम्भावना पनि टर्दै गएको देखिन्छ । 

यस्तैमा नेकपा एमालेका माधव नेपाल समूहका नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलील ‘महालाल गद्दार’ को संज्ञा दिएका छन् । नेकपा एमालेबाट सांसद् बनेर प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका नेता मेटमणि चौधरीले केपी शर्मा ओली महालाल गद्दार भएको बताएका हुन् । 

प्राइम टेलिभिजनको जनता जान्‍न चाहन्छन् कार्यक्रममा प्रस्तोता ऋषि धमलासँगको कुराकानीमा नेता चौधरीले ओलीले कम्युनिस्ट आन्दोलनलाई धोका दिएको टिप्पणी गरेका छन् । उनले भने, “बैठकले गरेको निर्णय नमान्‍ने, सम्पूर्ण पार्टी पंक्तिलाई कम्युनिस्ट आन्दोलनप्रति वितृष्णा जगाउने, विधि-विधान र संविधान नमन्‍ने पार्टी अध्यक्ष केपी ओली लाल गद्दारमात्र होइन, महालाल गद्दार हो ।” 

उनले पार्टी अध्यक्षलाई प्रधानमन्त्री कम्युनिस्ट आन्दोलन सक्‍नका लागि बनाएको हो ? भन्दै प्रश्‍न गरेका छन् । उनले भने, “आफू सांसद् बन्दै गर्दा राष्ट्र र जनताको पक्षमा प्रतिबद्धता जाहेर गरेका थियौं । केपी ‌‌ओलीका कारण संविधान धुजा-धुजा भइसकेको थियो । पहिलो पटक संविधानमा प्रावधान नै नभएको कुराले संविधान भंग गरे । त्यसको पूर्ण पाठ नआउँदै दोस्रो पटक पनि संसद् भंग गरे ।”

उनले पार्टी अध्यक्ष ओलीले मुलुकको संविधानलाई च्यात्‍न खोजेको, व्यवस्थालाई भत्काउन खोजेकोले शेरबहादुर देउवालाई मतदान गरेको स्पष्ट पारेका छन् । 

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ११ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।