Logo

राजनीति

व्यस्त विप्लव : राजतन्त्र र हिन्दु राज्यका पक्षधर कमल थापासँग पनि भेट 



नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नयाँ सरकार गठन भएसँगै व्यस्त देखिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दोस्रो दिनदेखि नै विप्लवले भेटघाटमा व्यस्तता बढाएका हुन् । 

उनले शुक्रबार राजतन्त्र र हिन्दु राज्यका पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग पनि भेट गरेका छन् । कमल थापाले सामाजिक सञ्‍जाल ट्विटरमार्फत विप्लव र आफूबीच भेट भएको जानकारी गराएका हुन् । 

उनले लेखेका छन्, “नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका नेता तथा राप्रपाका नेताहरु बिच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भयो ।”

२०७७ फागुन २१ गते शान्तिपूर्ण राजनीतिमा फर्किएका विप्लव र तत्काली केपी शर्मा ओली नेतृत्वको सरकारबीच तीन बुँदे सम्झौता भएको थियो । उक्त सहमति  कार्यान्वयन गर्न पनि राप्रपाका अध्यक्ष कमल थापाले सरकारको ध्यानाकर्षण गराएका छन् । 

व्यस्त विप्लवको भेटघाट श्रृंखला 

नयाँ सरकार गठन भएको दोस्रो दिन नै २०७८ असार ३० गते विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता भयो । उनले २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता भएको थियो । २०७८ साउन १ गते जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग भेटवार्ता  गरेका विप्लवले साउन २ गते आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यसँग भेटघाट गरे ।

विप्लवले २०७८ साउन ३ गते एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साहसँग भेटवार्ता गरेका थिए भने साउन ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरे ।

खुला राजनीतिमा आएपछि पनि झण्डै पाँच महिनासम्म ‘गुमनाम’ बनेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्ला केही दिनयता राजनीतिक भेटघाटलाई तीव्र पारेका हुन् ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीनबुँदे सम्झौता गरेर भूमिगत राजनीति परित्याग गर्नुभएका चन्दको ओली सत्ताबाट बाहिरिएसँगै भइरहेको राजनीतिक भेटवार्तालाई चासोका साथ हेरिएको छ । 

पछिल्ला एक साताभित्र चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराई, आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साह, एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

राजनीतिक भेटवार्ता मूलतः सरकार र नेकपाबीच गत फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनको अवस्था र वर्तमान राजनीतिक परिस्थितिका बारेमा केन्द्रित रहेको प्रस्ट देखिएको छ । नेकपाका नेता धर्मेन्द्र बाँस्तोला मुख्यतः दुई बुँदामा केन्द्रित रहेर राजनीतिक भेटवार्ता भएको बताउँछन् । सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन र वर्तमान राजनीतिक जटिलताको निकासका बारेमा महासचिव चन्दले छलफल गरेको उनले बताए । 

नेकपाले सरकारसँग प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद निर्माणका लागि बहस र छलफल चलाउने तीन बुँदे सहमति गरेको थियो । सोही सहमतिका आधारमा सरकारले नेकपाको गतिविधिमाथि लगाइएको प्रतिबन्ध हटाएको थियो । सरकारसँग भएको सहमतिअनुसार पक्राउ परेका कार्यकर्ता रिहा नभएको भन्दै नेकपाले सहमतिको कार्यान्वयनमा आशङ्का व्यक्त गर्दै आएको छ । 

अझै पनि नेकपाका कार्यकर्ता विभिन्न मुद्दामा कारागारमा थुनामा छन् । “अझै १२० भन्दा बढी हाम्रा कार्यकर्ता कारागारमा छन्”, नेता बाँस्तोलाले भने, “कार्यकर्ता रिहाइमा भएको ढिलाइ विषयमा पनि भेटमा छलफल भएको हो ।”

वामपन्थी विश्लेषक श्याम श्रेष्ठ चन्दको भेटवार्ताको शृङ्खलालाई दुई कोणबाट हेर्नुपर्ने बताउँछन् ।  सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन र कार्यकर्ता रिहाइसँगै वामपन्थी एकताको सम्भावनाका विषयमा चन्दले छलफल गरेको हुनसक्ने उनको ठम्याइ छ । 

“विप्लव खुला राजनीतिमा आएपछि अब उहाँको बाटो के त ?”, उनले भने, “डा भट्टराई, माधव नेपाल, प्रचण्डसँगको भेटवार्तामा के वामपन्थी मिल्न सक्छन् भन्ने विषयमा छलफल भएको हुनसक्छ ।” वामपन्थी एकताका लागि दाहाल, नेपाल र चन्दबीच कुराकानी भए पनि त्यसले मूर्त रुपमा पाउन कठिन देखिएको उनको भनाइ छ । “वैचारिक र सैद्धान्तिक छलफल गहिरोसँग गरेर, मिलन विन्दु पहिल्याएर, कामकारबाहीमा एकरुपता ल्याएर गरेको एकता टिकेको देखिन्छ, सैद्धान्तिक विषय नटुङ्गीकन भएका एकता टुटेका छन्”, श्रेष्ठले भने । 

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।