Logo

राजनीति

भीम रावलले लिए राजीनामा फिर्ता



नेकपा एमाले एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्‍नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । 

आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् । 

पछिल्लो समय एमालेलाई एकतावद्ध बनाउने अभियानमा रहेका उनले वरिष्ठ नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि सांसद पद छाड्ने घोषणा गरेका थिए। साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुअगाडि रावलले संसद भवनमै राजीनामा घोषणा गरेका थिए । यद्यपि उनको राजीनामालाई संसद सचिवालयले स्वीकृति प्रक्रिया अघि बढाइसकेको थिएन । 

एमाले एक बनाउन ओली पक्षसँगको वार्तालाई अघि बढाउन वरिष्ठ नेता नेपाल तयार भएपछि उनले राजीनामाबाट पछि हट्ने निर्णय लिएका हुन् । राजीनामा फिर्ताबारे उनले हिजो भएको भेटमा नेपालसँग छलफल गरेका थिए । नेता नेपालले कार्यदलको १० बुँदे सहमति अनुसार एमालेमै रहेर अघि बढ्ने प्रतिवद्धता जनाएपछि रावलले राजीनामाबाट पछि हट्ने बताएका थिए । 

रावलको राजीनामा स्वीकृत नगर्न सभामुख अग्नि सापकोटालाई समेत आग्रह गरिएको थियो । रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसदहरु र नेताहरुले दबाब दिएका थिए । राजीनामा घोषणा गर्ने दिन पनि अर्का नेता सुरेन्द्र पाण्डेले रावललाई रोक्न जोड गरेका थिए । तर, संसद भवन परिसरमै रावलले राजीनामा पत्र बाचन गरेका हुन् । 

आज शुक्रबार प्रतिनिधि सभाको बैठक बस्दैछ । 

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  १२ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।