Logo

राजनीति

प्रतिपक्षी दलका अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा भेटवार्ता भएको छ । 

राष्ट्रपति भण्डारीलाई भेट्‍न एमाले अध्यक्ष ओली शितलनिवास पुगेका हुन् । उनीहरुबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११:४० देखि दिउँसो १:४० सम्म भेटवार्ता भएको उच्च सुरक्षा स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने खुलेको छैन ।

यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्‍न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो । 

सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली पदमुक्त भएका हुन् । 

देउवाले शपथ ग्रहण गर्दा ओली शितलनिवासको समारोहमा सहभागी भएका थिएनन् । राष्ट्रपति भण्डारी र निवर्तमान प्रधानमन्त्री ओलीले प्रधानमन्त्री देउवालाई बधाइसमेत दिएका छैनन् । 

फाइल तस्बिर ।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  २ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।