Logo

प्रमुख समाचार

स्थानीय निर्वाचनको संख्यालाई आधार मानेर अहिले सिट बाँडफाँट गर्न सकिँदैन : देव गुरुङ 



काठमाडौं । नेकपा मओवादी केन्द्रका महासचिव देव गुरुङले एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । रिपाेर्टस क्लबमा बुधबार आयोजित कार्यक्रममा उनले दलका शीर्ष नेताहरूबीच यसै बिषयमा छलफल भइरहेको बताए । 

कार्यक्रममा उनले पार्टीबाट निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रिया पहिलाको जस्तै हुने बताए । सुरुमा जिल्लाबाट प्रदेशमा दावेदारको नाम सिफारिस हुन्छ र त्यसपछि प्रदेशबाट केन्द्रमा नाम सिफारिस हुन्छ । यही प्रक्रियाबाट आएका मात्रै उम्मेदवार बन्नेछन् । यसरी दावेदारको नाम सिफारिस गर्दा बढीमा तीन जना केन्द्रमा सिफारिस हुनेछन् । सकेसम्म जिल्लाबाट एकै जनाको नाम सिफारिस गर्ने प्रयास हुनेछ ।  

उनले पार्टीका ‘ह्याभी वेट’हरूसँगको प्रतिस्पर्धामा आउनेहरूबीच आपसी सहमतिका लागि प्रयास पनि गरिने बताए । यसमा नेताहरूले सहजै मिलाउने विश्वास लिएको उनको भनाइ छ । महासचिव गुरुङले सत्ता साझेदार गठबन्धतसँगै निर्वाचनमा पनि गठबन्धन हुने दाेहाेर्‍याए । तर, कसरी सिट विभाजन हुने भने टुङ्गो नलागेको बताए ।

तर, कांग्रेसले भनेजस्तो अघिल्लो (स्थानीय) निर्वाचनको संख्याको आधारमा सिट विभाजन गर्न नमिल्ने  बताए । उनले भने, ‘अहिलेको परिस्थिति नै अर्कै छ । यसका लागि भिन्न मापदण्ड बनाउनु पर्छ । हामी मापदण्ड बनाउँ भनिरहेका छौं । छलफल जारी छ । १–२ दिनभित्रै टुङ्गिन्छ ।’ कार्यक्रममा उनले स्वतन्त्र विचार राखेर जोसुकै पनि निर्वाचनमा सहभागी हुन सक्ने बताए । प्रजातन्त्र दलगत विचारका साथै स्वतन्त्र विचारलाई पनि सम्मान गर्नुपर्छ । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १६:४३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।