एमालेका युवा नेता तथा सांसद महेश बस्नेतले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजप्रति कडा आक्रोश व्यक्त गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको आयोग खारेज गर्ने निर्णय बाहिरिएपछि बस्नेतले कडा आक्रोश व्यक्त गरेका हुन् ।
केपी ओली नेतृत्वको सरकारले देशभरिका सदियौं देखिका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान तथा व्यवस्थापन गर्नको लागि देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।
नेता बस्नेतले आयोग खारेजप्रति असन्तुष्टि जनाउँदै देउवा सरकारलाई दिएको चेतावनी जस्ताको तस्तैः
राजनीतिमा पक्षधरता र प्रतिपक्षता हुन्छ र एउटा प्रतिस्पर्धी दलले अर्को दललाई विचार, सिद्धान्त तथा कार्यक्रमको आधारमा प्रतिद्वन्द्वता राख्न पनि पाइन्छ । सोही क्रममा एउटा प्रकृयामा विपक्षी सरकारले नियुक्ति दिएको व्यक्ति मन नपर्न सक्ने कुरालाई पनि स्वभाविक मान्न सकिन्छ । यद्यपि नेपालको संविधानको धारा ४० (५) मा राज्यले भुमिहिन दलितलाई कानुन बमोजिम एक पटकको लागि जग्गा उपलब्ध गराउनेछ भन्ने मौलिक हकको सुनिश्चितता गरेकै आधारमा भुमि सम्बन्धी ऐन, २०२१ को आठौं संशोधन गरी एक पटकको लागि आयोग गठन गर्ने कानुनी तथा संबैधानिक आधारमा गठन गरिएको कुरालाई ललाट एउटा सनकका भरमा विघटन गर्ने कुरा कानुनी रुपमा त्रृटिपूर्ण त छ नै साथै, असंवैधानिक, गैह्र कानुनी, अपाराधिक कार्य समेत हो । भुमि समस्या समाधान आयोगले नेपालको संविधान, कानुनले परिकल्पना गरेको कार्यलाई आत्मसात गर्न अघिल्लो आ.व.मा मात्र १५ करोड भन्दा बढी रकम खर्च गरी कार्य गरिरहेकोमा त्यसलाई अनायासै विघटन गर्दा राज्यको स्रोत दुरुपयोग गरी देउवा नेतृत्वको सरकारले नीतिगत भ्रष्टाचार गरी सरकारको अधोगतिको यात्रा तय गरेकोले यसको चरित्र उदाङ्गिएको छ ।
संघीय संरचना, प्रदेश सरकारको प्रतिनिधि तथा स्थानीय सरकारको प्रत्यक्ष संलग्नतामा राज्यको प्रमुख समस्या मध्येको एक विषयलाई संबोधन गर्न गठित यस्तो संबेदनशील आयोग खारेज गर्नु भनेको भुमिहिन दलित, सुकुम्बासीहरुको भबिष्य अन्धकार बनाउने षड्यन्त्र हो ।
आयोग गठन गरेपछि हाल सम्म करिब १४ लाख भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित वसोवासीहरुको परिवारले आफ्नो पहिचान र भूमिहिनताको समस्या सम्बोधन हुने आसमा स्थानीय सरकार मार्फत् फारम भरेकाहरुको भविष्यलाई खेलवाड गर्ने कुरा राजनीतिक बेइमानी तथा नेपाली कांग्रेसको घोषणा पत्रमा गरेको प्रतिबद्धता समेत माथिको कुठाराघात हो । हुनत काँग्रेसका नेताहरू खुल्लम खुल्ला आफुहरु गरिब पिडित र सुकुम्बासीहरुको पार्टी होइन भन्छन् । बिडम्बना आफुलाई सर्बहारा र श्रमजीवीहरुको नेता मान्ने र त्यही वर्गको १७ हजार जनताको बलिदानबाट प्राप्त लोकतन्त्रका हकदार ठान्ने माओवादी अध्यक्ष प्रचण्ड र निजको पार्टीको हित विरुद्ध आफ्नै सरकार ढालेर देउबालाई प्रधानमन्त्री बनाउन लाग्ने माधब कुमार नेपालहरुले यस्को उचित जबाफ अनन्तकाल सम्म दिइरहनु पर्नेछ । सरकारले तत्काल यो निर्णय सच्चाएर अगाडि बढोस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु । अन्यथा यो र यस्तै निर्णयबाट भुमीहिन, शोषित, उत्पीडित, दलित तथा निम्न वर्गका समुदायहरुले संघर्षमा निस्कनुको विकल्प बाँकी रहने छैन । यसको नेतृत्व आम न्यायप्रेमी युवा नेकपा एमालेले गर्नेछ, मुलुक आन्दोलनमय हुनेछ र सरकारलाई जन आक्रोश थेग्न मुस्किल हुनेछ ।
प्रतिक्रिया