सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता तथा काठमाण्डौं क्षेत्र न. ४ बाट प्रत्यक्ष निर्वाचित सांसद गगनकुमार थापा स्वास्थ्यमन्त्री बन्न इक्छा देखाएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न तयार रहेको थापाको भनाइ छ । बुधबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीले चाहेमा आफू स्वास्थ्य मन्त्री बन्न तयार रहेको बताएका हुन् ।
यसअघि स्वास्थ्य मन्त्री हुँदा उनले गरेको कार्यको अहिले पनि स्वास्थ्य क्षेत्रमा चर्चा हुने गरेको छ भने कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पूर्ववर्ती ओली सरकारलाई दिएको सुझावले पनि उनको तारिफ भएको थियो । तर, उनको सुझावलाई तत्कालीन सरकारले बेवास्ता गरेको थियो ।
अहिले आफ्नै पार्टीले सरकार नेतृत्व लिएका बेला थापाले आफूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएमा सम्हाल्न तयार रहेको बताएका हुन् । उनलाई स्वास्थ्यमन्त्री बनाउनु पर्ने आवाज उठिरहेका बेला उनको सो अभिव्यक्ति आएको हो । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि युद्धस्तरमा काम गर्नुपर्ने स्वास्थ्य मन्त्रालय राज्यमन्त्रीको भरमा रहेको छ ।
अहिले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिएको जानकारीसमेत दिएका उनले एमालेको नेपाल समूह सरकारमा सहभागी हुने या नहुने विषय टुंगोमा नपुगेकाले मन्त्रिपरिषद् विस्तारमा ढिला भएको बताए ।
प्रतिक्रिया