Logo

राजनीति

के प्रचण्ड र नारायणकाजीको बोलचाल बन्द भएकै हो ?



सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउन नसकिरहेको नेकपा माओवादी केन्द्रभित्र अर्को लफडा थपिएको छ । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन सोमबार बोलाइएको पार्टी स्थायी समिति बैठक स्थगित गरेको विषयमा समेत पार्टीमा असन्तुष्टी बढेको छ ।

पार्टी अध्यक्ष प्रचण्डले आफूलाइ जानकारी नगराई बैठक स्थगित गरेको भन्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्‍ठले सार्वजनिक रुपमा नै आपत्ति जनाएका छन् । श्रेष्ठले वर्तमान सरकारमा माओवादी पक्षको नेतृत्व गर्दै सरकारमा सहभागी हुन चाहेका छन् ।

सत्ता गठबन्धनभित्र नारायणकाजी श्रेष्ठ रुचाइएका पात्र होइनन् । उनलाई मन्त्रीमण्डलमा सहभागी गराउन स्वयं प्रधानमन्त्री शेरबहादुर देउवासमेत इच्छुक छैनन् । यहि विषयमा माओवादीभित्र नारायणकाजी श्रेष्ठले आफुलाइ बाइपास गर्न खोजेको भन्दै अध्यक्ष प्रचण्डसँग चित्त दुखाएको र सिधा बोलचाल समेत बन्द भएको स्रोतको दाबी छ ।

मन्त्री बन्‍ने दौडमा रहेका श्रेष्ठलाई रोक्न गोरखाका माओवादी नेताहरु प्रचण्ड निवासमै पुगेको समेत चर्चा छ । उनीहरुले श्रेष्ठलाई भन्दा अर्का सांसद हरि अधिकारीलाई मन्त्री बनाउन दबाब दिएको बुझिएको छ । श्रेष्ठ गोरखाबाट चुनाव हारेपछि नेकपाको कोटामा राष्ट्रिय सभामा पुगेका हुन् । श्रेष्ठले आफ्नो गुटलाइ मन्त्री चाहिने र त्यसमा पनि आफैंलाइ चाहिने भनेपछि प्रचण्ड पक्ष फायर भएको छ ।

माओवादीले यसपटक नयाँलाई अवसर दिनुपर्छ भन्दै केही सांसदहरू प्रचण्ड निवासमा धाइरहेका छन् । मन्त्री बन्‍न पाउनुपर्ने भन्दै प्रचण्डलाई दबाब दिनेमा श्रेष्ठसहित देव गुरुङ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरि अधिकारी, सुदन किराँती, महेश्वर गहतराज, अन्जना विसङ्खेलगायत छन् ।

प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार  ६ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।