Logo

राजनीति

सयुक्त सरकारले गर्‍यो १० सचिवको सरुवा को कहाँ ?



सरकारले विभिन्न महत्वपूर्ण मन्त्रालय र निकायका १० सचिवको सरुवा गरेको छ । शेरबहादुर देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारले दोस्रोपटक सचिवको सरुवा गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, सञ्चार सूचना प्रविधि, रक्षा मन्त्रालयलगायत विभिन्न १० निकायका सचिवको सरुवा गरेको हो । जसका अनुसार भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृहका महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा। बैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका वेगेन्द्रराज शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा लगिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव किरणराज शर्मालाई बाग्मती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ भने प्रधानमन्त्री कार्यालयकै अतिरिक्त समूहमा रहेका रामप्रसाद घिमिरेलाई प्रदेश १ को प्रमुख सचिवमा र कृष्णहरि पुस्करलाई प्रदेश २ को प्रमुख सचिवमा सरुवा गरिएको छ ।

यस्तै प्रदेश १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा र प्रदेश २ का प्रमुख सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयमा अनुसार प्रदेशमा रहेका अन्य केही सचिवलाई पनि केन्द्रमा ल्याउने तयारी भइरहेको छ ।

गृहमा आउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल, पर्यटन सचिव यादवप्रसाद कोइराला, उपराष्ट्रपति कार्यालयका सचिव रामकृष्ण सुवेदीलगायत प्रयासरत थिए । यसैगरी कृष्णहरि पुस्कर, अर्जुन पोखरेल, गोकर्णमणि दुवाडी, केबलप्रसाद भण्डारी पनि गृहसचिवको दौडमा रहेका थिए । तर, पाण्डेले बाजी मारेका छन् ।

गृहसचिवमा नियुक्त भएका पाण्डेले इमानदारिता र मिहिनेतका साथ परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘जहा भए पनि इमानदारीतापूर्वक काम गर्ने हो भने सहजै परिणाम दिन सकिन्छ, त्यसैले गृह मन्त्रालयमा पनि परिणाम दिनेगरी काम गर्न दृढ प्रतिबद्ध छु,’ गृहसचिव पाण्डेले राजधानीसँग भने आजको राजधानी दैनिकमा समाचार छ । 

प्रकाशित मिति : श्रावण २५, २०७८ मंगलबार  ८ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।