नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीसँग सार्थक एकता नहुने ठहर गरेको छ । आफूहरुले पार्टी एकताको लागि वार्ता प्रक्रिया जारी राखेका बेला ओली पक्षले एक पक्षीय ढङ्गले विधान संशोधन लगायतका पार्टी गतिविधि जारी राखेकाले पार्टी एकताको संभावना नरहेको ठहर नेपाल समूहले गरेको हो ।
ओलीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कमिटिको बैठकले विधान संशोधन प्रस्ताव पारित गरी यही भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने प्रक्रिया अगाडि बढाएकोमा नेपाल समूह रुष्ट बनेको छ । पार्टीका गतिविधि रोकेर एकता प्रक्रियामा सामेल हुन आफूहरुले गरेको आग्रह नमानी मनोमानी तरिकाले अघि बढ्न खोजेकाले नेपाल समूहले देशव्यापी रुपमा ओलीको भण्डाफोर गर्दै वडादेखि केन्द्रसम्म समानान्तर गतिविधि गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
बरिष्ठ नेता नेपालले आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरुलाई देशैभरी स्थानीय तहदेखि केन्द्रसम्म भेला तथा प्रशिक्षण लगायत पार्टीलाई मजबुत बनाउने खालका कार्यक्र सञ्चालन गरी कार्यकर्ताहरुमा पार्टीप्रति उर्जाशिल बनाउन निर्देशन दिएका छन् । ओली समूहले देशभरका नेता तथा कार्यकर्ताहरुको मनोकांक्षा बिपरीत एकतर्फी रुपमा पार्टीको विधान संशोधनको मस्यौदालाई अगाडि बढाएपछि नेता नेपालले ओलीसँग एकता संभव नभएको भन्दै कडाइका साथ समानान्तर गतिविधि गर्न निर्देशन दिएका हुन् ।
आफूहरु अन्तिम समयसम्म पनि पार्टी एकताकै पक्षमा रहेको र सोमबार बस्ने बैठकबाट ओली पक्ष थप लचिलो हो भन्ने अपेक्षा भएकोमा ओली झन् आफैं शक्तिशाली बन्ने नाममा थप निरंकुशता तर्फ अगाडि बढेकोले ओली पार्टी फुटाउनै उद्धत रहेको नेपाल पक्षले ठहर गरेको छ । केपी ओलीले आफूहरुलाई एउटा कित्तामा पु–याउन खोजेको ठहर गर्दै नेपाल पक्षले ओलीको विकल्पमा पार्टी स्थापित गर्ने रणनीति लिएको छ ।
प्रतिक्रिया