सरकारले कम विद्युत खपत गर्ने जनताहरुका लागि महसुलमा सुविधा दिने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई नियुक्त गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको जानकारी दिइन् । हाल १० युनिटसम्म मात्रै खपत गर्नेहरूलाई निशुल्क गरिएकोमा अब मासिक २० युनिटसम्म खपत गर्नेहरुले कुनै शुल्क तिर्नु पर्ने छैन ।
‘महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले त्यहाँ प्रस्ताव पठाइएको छ, आयोगले निर्णय गरेको दिनबाट यो महसुलदर लागू हुन्छ,’ पत्रकार सम्मेलनमा उनले भनिन् ।
यसअनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ । मन्त्री भुसालले विपन्न स्तरका जनतालाई राहत दिने गरी यस्तो निर्णय भएको बताइन् ।
मन्त्री भुसालले स्यालो ट्यूवेल सिमान्तकृत र साना कृषकहरूको जीवनस्तर उठाउने माध्यम भएकोले विद्युत बढी माग हुने समयमा महसुलमा ८० र अन्य समयमा पुर्ण रूपमा छुट दिने घोषणा पनि गरिन् ।
प्रतिक्रिया