सरकारले ल्याएको दल विभाजन सम्बनधी नयाँ अध्यादेश लागू भएमा नेकपा एमालेको माधव कुमार नेपाल समूहले सजिलै पार्टी फुटाएर नयाँ दल दर्ता गर्न सक्ने देखिएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्य भएमा दल विभाजन गर्न सकिने अध्यादेश ल्याएपछि नेपाल समूहलाई नयाँ दल गठन गर्न सहज भएको हो ।
यस्तो छ नेपाल समूहको अवस्था
अहिले एमालेको संसदीय दलमा प्रतिनिधि सभामा १ सय २१ जना र राष्ट्रिय सभामा ३४ जना गरी १ सय ५४ सिट छ । सरकारले २० प्रतिशतमा दल विभाजन गर्ने अध्यादेश जारी भएपछि नेपाल पक्षले अब ३१ जना सांसद पुर्याउनुपर्छ । अहिलेसम्म नेपाल पक्षमा प्रत्यक्ष र समानुपातिक सहित २२ जना छन् ।
उनको आफ्नै पक्षका १४ जनाले यसअघि साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । उपाध्यक्ष वामदेव गौतमसँग रहेका तुलसा थापा र माया ज्ञवाली पनि नेपाल पक्षमै खुलेका छन् ।
देउवालाई विश्वासको मत नदिने तर नेपाल पक्षमै रहेका सांसदको संख्या १० जना छ । यी १० जना पार्टी विभाजन भएको अवस्थामा नेपाल समूहमै लाग्ने सम्भावना बलियो छ ।
यस्तै राष्ट्रिय सभामा नेपाल समूहका १० जना सांसद छन् । यसरी हेर्दा एमालेको संसदीय दलमा नेपाल पक्षको ३४ सांसद हुन्छन् । त्यस्तै एमालेको केन्द्रीय कमिटीमा समेत नेपाल पक्षले २० प्रतिशत पुर्याउने देखिन्छ । सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार एमालेको केन्द्रीय कमिटी २ सय ६४ सदस्यीय छ।
२०७७ जेठ २ गतेको अवस्थामा एमालेमा २ सय ३ केन्द्रीय सदस्य थिए । त्यसमा केहीको मृत्यु भएको छ भने केहीले राजनीतिक नियुक्ति लिएपछि पद त्याग गरेर १ सय ९६ थिए ।
तर, सर्वोच्च अदालतले पछिल्लो पटक गरेको फैसला अनुसार २ सय ६४ लाई मान्यता दिएको छ । यसको २० प्रतिशत भनेको ५३ जना हुन्छ । अघिल्लो साता नेपाल पक्षले राखेको केन्द्रीय समितिको बैठकमा ७३ जना उपस्थित भएका थिए । यसले गर्दा नेपाल पक्षले सजिलै एमाले फुटाएर नयाँ पार्टी बनाउन सक्ने देखिएको छ ।
प्रतिक्रिया