Logo

राजनीति

ओलीकै सहजीकरणमा नेपालको नयाँ पार्टी



पाँच महिना लामो एकता प्रयास असफल भएपछि अन्तत एमाले औपचारिक रुपमा विभाजनको संघारमा पुगेको छ । सरकारले पठाएको दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भए लगत्तै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ । नेपाल सहित १४ सांसदलाई कारबाही गरेर संस्थापनले पनि विभाजनलाई सहजीकरण गरिदिएको छ । 

नेपाल समूहका नेता विरोध खतिवडाले एकताको अन्तिम कोसिसमा लागेको र अध्यादेश जारी हुने बेलासम्म प्रगति नभए दल दर्ताका लागि निर्वाचन आयोग जाने बताए । ‘नयाँ दल दर्ता गर्ने प्रक्रिया सबै कागजात तयार छन् ।’- उनले भने । एकताको सम्भावना करिब करिब सकिएको हुँदा अध्यादेश जारी हुने बित्तिकै आयोग जाने तयारी छ । 

नयाँ पार्टी गठनको गृहकार्यमा रहेका नेपाल पक्षका नेताहरुका अनुसार राष्ट्रपतिबाट बुधबार अध्यादेश जारी भए नयाँ दल दर्ताका लागि लगत्तै आयोग जाने तयारी छ । निर्वाचन आयोगमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटि मध्येबाट करिब ६० जना सदस्यको हस्ताक्षर संकलन भएको छ । 

स्थायी कमिटिका एक नेताका अनुसार दर्ताका लागि आवश्यक पर्ने कागजात (हस्ताक्षर, नागरिकता, विधान, नियमावली लगायत) तयार गर्ने जिम्मा स्थायी कमिटि सदस्य वेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, विजय पौडेल, प्रमेश हमाल लगायतलाई दिइएको छ । 

अब २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने गरी कानून जारी भएमा ४१ सदस्यको पनि प्रर्याप्त हुनेछ । त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसद नयाँ पार्टीको पक्षमा छन् । त्यसमा अझै केही थपिने नेताहरुको दाबी छ । राष्ट्रिय सभामा आफ्ना ९ सांसद रहेको यो समूहको दाबी छ ।

नेपाल समूहले यसअघि नै सबै जिल्लामा जिल्ला कमिटि, जनवर्गीय संगठनमा समानान्तर कमिटि बनाएको छ । यसअघि जिल्ला कमिटिमा नेपाल पक्षका ४० अध्यक्ष थिए । तर पछि केही नेता घटेर ३५ मात्रै रहेको नेताहरुको भनाई छ । सर्वोच्च् अदालतले फागुन २३ मा नेकपा एकता बदर गरे लगत्तै ब्युँतिएको एमालेमा अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच राजनीतिक र सांगठनिक मुद्धामा विवाद छ । विवाद व्यवस्थापनका लागि भएका प्रयास असफल भएको भन्दै नेपाल समूहले अलग्गै पार्टी घोषणाको गृहकार्यमा जुटेको हो । 

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार  ७ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।